आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ को बिक्री खुला
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ आज मंसिर २० गतेदेखि बिक्री खुला भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्न लागेको हो। जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्धक र २० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको छ।
यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड इकाईको माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन मंसिर २४ गतेसम्म दिन सकिनेछ। यो अवधिमा पर्याप्त आवेदन नपरेमा पुस ४ गतेसम्म बिक्री खुला गरिनेछ।
यस अवधिभित्र कम्तीमा ५ करोड इकाईका लागि आवेदन परेको खण्डमा मात्र इकाई बाँडफाँड हुनेछ। न्यूनतम आवेदन नपरेमा योजना खारेज गरी लगानीकर्तालाई रकम फिर्ता गरिनेछ।
यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसको योजना व्यवस्थापक र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ।