प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपालमा विदेशी लगानी आकर्षित गर्ने प्रतिबद्धता
काठमाडौँ। नेपालमा विदेशी लगानी आकर्षित गर्न नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता सरकार र निजी क्षेत्रले व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आयोजित नेपाल(चीन व्यवसायिक शिखर सम्मेलनमा दुई देशबीचको व्यापार, लगानी र पर्यटन सहकार्यलाई प्राथमिकता दिने भनिएको छ।
चीनस्थित नेपाली दूतावास, नेपाल उद्योग वाणिज्य महासंघ, र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) को सहकार्यमा बेइजिंगमा आयोजित सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि वातावरण सुधार हुँदै गएको र धेरै क्षेत्र अझै आकर्षक रहेको बताए । उनले सरकार स्वदेशी र विदेशी लगानीको संरक्षणका लागि सधैं तत्पर रहेको र निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा प्राथमिकता दिइएको उल्लेख गरे ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक वर्षमा नेपालमा व्यवसायिक वातावरण सुधारका लागि भएका प्रयासहरूको जानकारी गराउँदै, लगानी सम्बन्धी आठवटा कानुन संशोधन र द्विपक्षीय लगानी सम्झौताको प्रारूप तयार भएको बताए । नेपालले पहिलोपटक क्रेडिट रेटिंग पाएको र यसले विदेशी लगानीकर्ताको भरोसा बढाएको उनले बताए ।
चीनले नेपालमा ठूलो मात्रामा लगानीको प्रतिबद्धता जनाएको छ। चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालको परम्परागत सम्बन्धलाई आर्थिक सहकार्यमा बदल्न अझै बल दिने बताए । उनले नेपाललाई चीनमार्फत अन्य देशसँग व्यापार सहजीकरण गर्ने र नेपालमा चिनियाँ लगानी वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन महासंघका अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र, र सूचना प्रविधिमा लगानीको सम्भावनाबारे जानकारी गराए । सीमा क्षेत्रको पूर्वाधार स्तरोन्नति र भैरहवा तथा पोखरा विमानस्थलमा चीनबाट सीधा उडान सुनिश्चित गर्न पहल गरिनुपर्नेमा पनि जोड दिए ।
सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघलाई पुरानो साझेदारका रूपमा सम्मान गर्दै दुई देशबीचको व्यापार र लगानी प्रवर्द्धनमा सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सहजताबारे बताउँदै चिनियाँ लगानीकर्ताका लागि थप आकर्षक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराए ।
यस शिखर सम्मेलनमा १२० चिनियाँ व्यवसायी र नेपालका ५० उद्यमीको सहभागिता थियो। बिजनेस टु बिजनेस बैठकहरूसहित सम्पन्न कार्यक्रमले नेपाल(चीन आर्थिक सहकार्यलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।