राष्ट्र बैंकका दुई हाइप्रोफाइलको विषयले महिला आयोगमा भाँडभैलो, पदाधिकारीको जातोमा कर्मचारीको पिसानी

१९ मंसिर २०८१, बुधबार ११:३८

काठमाडौं । राष्ट्र बैंकका दुई विभागीय प्रमुखलाई जोगाउने र कारबाहीको सिफारिस गर्ने भन्दै पदाधिकारीहरु दुई कित्तामा विभाजन भएसँगै राष्ट्रिय महिला आयोगमा भाँडभैलो मच्चिएको छ । हिंसामा परेका महिला बालबालिकाको संरक्षणकर्ता एक संवैधानिक आयोग अहिले आफैं अशान्त छ ।

त्यति मात्र नभई पदाधिकारीको जातोमा कर्मचारीको पिसानी भइरहेको छ । राष्ट्र बैंकका दुई उच्च अधिकारी एवं विभागीय प्रमुखलाई कारबाही गर्ने वा नगर्ने भनी दुई कित्तामा आयोग पदाधिकारी विभाजित हुँदा कर्मचारीहरु त्यसको मार खेपिरहेका हुन् ।

आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसाको घटनामा संलग्न दुई उच्च अधिकारीलाई जोगाउन खोजेको भन्दै आयोगका २ जना सदस्यलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन् ।

अध्यक्ष पराजुलीले आयोग सदस्य कृष्णकुमारी पौडेल खतिवडा र विद्या कुमारी सिन्हालाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण बुझाउन भनेर लिखितै पत्र काटेकी हुन् । त्यसको प्रतिक्रिया स्वरुप आयोग सदस्य पौडेल र सिन्हाले छानविन समितिको प्रतिवेदनबारे आयोगको बोर्ड बैठकमा कुनै छलफल नभएको र अध्यक्ष एक्लैले तोकादेशका भरमा गरेको सिफारिसले कसैलाई दोषी करार गर्न नमिल्ने भन्दै प्रतिवाद गरेका छन् ।

उनीहरुले अध्यक्षले आफुहरुलाई संविधानतः स्पष्टीकण सोध्न नमिल्ने तर्क गरेका छन् । उस्तै हैसियतका पदाधिकारी एकले अर्कालाई स्पष्टीकरण सोध्न नमिल्ने र संवैधानिक परिषदमा आफुहरुबारे कुरा उठेको भए स्वभाविक हुने उनीहरुको भनाइ छ ।
तर, महिला आयोगकी अध्यक्ष पराजुलीले आफुले महिला आयोगका कर्मचारीसँग गरेको सोधखोज गर्दा आयोगका २ जना सदस्यहरु हिंसामा संलग्नलाई जोगाउन लागि परेको भेटिएपछि स्पष्टीकरण सोधेको बताइकी छन् ।

महिला आयोगले नै महिला हिंसामा संलग्न भनिएका नेपाल राष्ट्र बैँकका डेपुटी गर्भनर बमबहादुर मिश्र र तत्कालीन कार्यकारी निर्देशक देवकुमार ढकाललाई अभियोगबाट सफाइ दिन पीडिकसँग भेटघाट गरेको, आयोगका कर्मचारीलाई मिश्र र ढकालका नाममा सफाइ पत्र बनाउन दवाव दिएको लगायतका अनैतिक एवं आचरणहीन काम गरेको भन्दै स्ष्टष्टीकरण सोधेको जिकिर गरिन् ।

बम र ढकालबारे आयोगले गरेको कारबाही प्रक्रियाबारे सदस्यद्वय खतिवडा र सिन्हा जानकार रहेको भन्दै अध्यक्ष पराजुलीले सदस्यद्वयले उजुरीबारे उजुरी शाखाका कर्मचारीसँग अनावश्यक चासो राखेको समेत स्ष्टीकरणमा उल्लेख गरेकी छन् ।

सदस्य खतिवडाले राष्ट्र बैंकका डेपुटी गर्भनर बम र तत्कालीन कार्यकारी निर्देशक ढकालमाथि आयोगमा उजुरी परेको भएपनि आयोगको आधिकारिक निर्णय भई कारबाहीका लागि सिफारिस नगरेको जिकिर गर्दै आएकी छन् । अध्यक्षको एकल निर्णयलाई आधिकारिक मान्ने वा नमान्ने भन्ने विषयमा समेत जुहारी चलेको छ ।

स्पष्टीकरण पत्रमा उल्लेख भएअनुसार आयोग अध्यक्षले भदौ १४ गते बसेको बैठकमा सबै सदस्यलाई राष्ट्र बैंकका अधिकृतहरुबाट राष्ट्र बैंकमै कार्यरत एक महिला कर्मचारीमाथि हिंसा भएको उजुरी परेको र आयोगले कारबाहीअघि वढाएको बारे जानकारी गराएको उल्लेख छ । यद्यपि, यसबारे बीमापोष्टले सूचना माग्दा यसअघि आयोगले टालटुले जवाफ दिएको थियो ।
आयोगको ५५औं बैठकमा शाखा प्रमुखले ब्रिफिङ्ग गरेको र त्यसमा पनि सुरुदेखि नै औपाचारिक जानकारी नदिएको भन्दै आयोग सदस्यहरुले त्यहीँ आपत्ति जनाएको प्रसंग पनि स्पष्टीकरणमा उल्लेख छ ।

अध्यक्ष पराजुलीले सोधेको स्पष्टीकरणमा आयोगका सदस्यले नै पूर्व जानकारीमा भएको विषयलाई थाहा नभएको जस्तो गर्नु, आयोगले हिंसामा संलग्न देखेका आरोपितसँगै राखेर आयोगका कर्मचारीलाई सफाइ पत्र तयार गर्न दवाव दिएर शंकास्पद, अनैतिक र आचरणहीन काम गरेर आरोपितको पक्षपोषण गरेको भनिएको छ ।

कर्मचारी आतंकति
आयोगका पदाधिकारीको आपसी टसलको मार कर्मचारीले भोगिरहेका छन् । र्कचारीहरु अहिले खाजा खान समेत बाहिर नगई आफैं रकम जम्मा गरेर कार्यालयमै खाजा खाने व्यवस्था गरेका छन् । सेवा ग्राहीलाई बढी भन्दा बढी सेवा दिने उद्देश्यले यस्तो व्यवस्था गरेकामा अहिले उनीहरुलाई महिला आयोगबारे बाहिर फेरा चिया पसलमा हुने मजाकबाट जोगाएको छ ।

आयोगकी सचिव पार्वती अर्यालका अनुसार कर्मचारीको आफ्नै आचारसंहिता छ भने पदाधिकारीको आफ्नै आचारसंहिता छ । हामी आफ्नो आचारमा बसेर कार्यसम्पादन गरिरहँदा उहाँहरुले आचार पालना गरेको प्रतित हुँदैन, उनले भनिन्, हामी पदाधिकारीको सोझै आउने आदेश र झम्टाइको सिकार बनिरहेका छौँ । त्यसै कारण कर्मचारी यहाँ दुई महिना पनि बस्न मान्दैनन् । कर्मचारी क्षमतावान् हुँदा हुँदै आयोगको कन्तविजोग बनाइएको छ । त्यसको जिम्मा कसले लिने ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*