‘व्यावसायिक कृषि क्षेत्रलाई बीमाको माध्यमबाट सुरक्षित बनाउन प्रोत्साहित गर्नुपर्छ’

१८ मंसिर २०८१, मंगलवार १८:११

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशद्वारा मंसिर १७ गते गरुडा नगरपालिकामा बीमा प्रवर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवको सभापतित्व र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनी प्रसाद जयसवालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नगरपालिकाका कर्मचारी, निर्वाचित जनप्रतिनिधि, अगुवा कृषक, पत्रकार, स्थानीय व्यवसायी, तथा बीमा, बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जयसवालले बीमाको महत्वलाई प्रकाश पार्दै बीमा जस्तो अनिश्चिततालाई व्यवस्थापन गर्ने साधन प्रत्येक व्यक्तिसम्म पुर्‍याउन आवश्यक रहेको बताए। उनले बीमा सम्बन्धी जनचेतना फैलाउने यस्ता कार्यक्रम आफ्नो नगरपालिकाको सबै वडामा सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रममा उपस्थित सहभागीहरूले जीवन बीमाको किस्ता फिर्ताको विषय र काँचो इँटा बीमाका चुनौतीहरूबारे प्रश्न गरेका थिए। प्राधिकरणका प्रमुख प्रीति देवले यी प्रश्नहरूको जवाफ दिँदै मधेश प्रदेशमा कृषि बीमाको न्यून प्राथमिकतामा रहेको उल्लेख गरिन्। उनले व्यावसायिक कृषि क्षेत्रलाई बीमाको माध्यमबाट सुरक्षित बनाउन प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याइन्।

बीमा सम्बन्धी जानकारीका लागि प्रस्तुतीकरण प्राधिकरणका सहायक निर्देशक रोशन कुमार महासेठले गरे। कार्यक्रम सञ्चालन रोमिला शर्माले गरिन्।
कार्यक्रमको समापन गर्दै प्रीति देवले बीमाले नागरिकको सुरक्षा सुनिश्चित गर्ने उल्लेख गर्दै यस क्षेत्रको बीमा पहुँच विस्तारमा नेपाल बीमा प्राधिकरणले निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन्।

बीमा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूले स्थानीय तहमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*