बजारमा देखिदै रौनकः साढे ८ अर्बको कारोबार, के छ माथि लम्किने आधार ?
काठमाडौं । शेयर बजारमा आज सुधारको यात्राले निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले निराश लगानीकर्तालाई पछिल्लो दुई दिनको सुधारले खुसी दिएको हो ।
बजारले लामो समयदेखि वियरिस चक्र पार गरिसकेको छ र अब वृद्धिको लय समाउन सक्ने सम्भावना बनिरहेको छ । शेयर बजार प्रायः बुल–वियर चक्रमा आधारित रहेकाले यस समयको बढोत्तरीलाई भविष्यमा पनि कायम राख्न सकिन्छ भन्ने आशा गरिएको छ । सेयर बजारमा हालका सुधार र सकारात्मक प्रवृत्तिहरूका आधारहरू पनि मजबूत देखिएका छन्। पहिलो, बैंक ब्याजदर घटेको र बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्था छ, जसले सेयर बजारमा सकारात्मक माहोल सिर्जना गर्न सक्ने देखिएको हो ।
केन्द्रीय बैंकले हालका केही कडा नीतिहरूलाई खुकुलो पार्ने संकेत दिएको छ, जसले लगानीकर्ताको मनोबल उच्च बनाउन मद्दत गर्न सक्छ । यद्यपि, सेयर बजारलाई थप वृद्धि गर्नका लागि अझै केही नीतिगत सुधार र कम्पनीहरूको मुनाफा वृद्धि आवश्यक रहेको जानकारहरुका तर्क छन् । बैंकिङ प्रणालीको तरलता र ब्याजदरको घटोत्तरीले शेयर बजारलाई माथितिर डोलेर अघि बढाउने अपेक्षाहरू छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो ।
यसदिन सात उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको १.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.८५ प्रतिशत र जीवन बीमा समूहको १.५२ प्रतिशतले बढेको हो ।
आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको घटेको छ ।