वाइड बडी जहाज खरिद प्रकरणः दीपक शर्मा दोषी ठहर

१८ मंसिर २०८१, मंगलवार १३:२१

काठमाडौँ। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको पुष्टि भएपछि नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन्। अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) अन्तर्गत शर्मालाई दोषी ठहर गरिएको हो। एफसीपीएको वेबसाइटमा यसबारे जानकारी सार्वजनिक गरिएको छ।

शर्मा नेपाल वायुसेवा निगमले खरिद गरेको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाजको खरिद–बिक्री प्रक्रियामा एजेन्टका रूपमा संलग्न थिए। अमेरिकी कम्पनी एएआर कर्पोरेसनले नेपाल वायुसेवा निगमलाई यी जहाज बिक्री गरेको थियो, जसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

एफसीपीएको अनुसन्धानअनुसार, जहाज खरिद प्रक्रियामा शर्मा घुस लेनदेनमा संलग्न रहेको पुष्टि भएको हो। शर्मा एएआर कर्पोरेसन अन्तर्गतको इन्टिग्रेटेड सोलुसन्सका पूर्वअध्यक्ष समेत रहेका छन्। हाल उनी एयरक्राफ्ट फाइनान्स जर्मनीमा कार्यरत छन्।

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसका जहाज खरिद गरे पनि प्रक्रिया लिजिङ कम्पनी एएआर कर्पोरेसनमार्फत भएको थियो। एएआरको हालै प्रकाशित वार्षिक प्रतिवेदनमा नेपाल वायुसेवा निगमको यो खरिद प्रकरणमा घुस लेनदेन भएको तथ्य सार्वजनिक भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*