दैनिक एक हजार ५०० जना धरहरा चढ्दै, सातामा १४ लाखभन्दा बढी राजस्व संकलन

१७ मंसिर २०८१, सोमबार १५:४५

काठमाडौँ । पुनःनिर्माण सम्पन्न ऐतिहासिक धरहराबाट सर्वसाधारणका लागि खुला भएको पहिलो सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। मंसिर ९ गतेबाट शुल्कसहित सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो।

कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार एक सातामा ८ हजार ३१६ जनाले धरहरा अवलोकन गरेका छन्। १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क नराखिएको उनले बताए। हाल बिहान १०ः३० देखि ३ः०० बजेसम्म मात्रै धरहरा चढ्ने व्यवस्था गरिएको छ, तर समय थपिएमा दैनिक १,५०० जनासम्मले धरहरा चढ्ने अनुमान गरिएको छ।

धरहरा चढ्न प्रतिव्यक्ति शुल्क २ सय तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र अन्य राष्ट्रका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

धरहरा सञ्चालनका लागि सरकारको निर्णयअनुसार विभिन्न शुल्क लागू गरिएको छ। पार्किङ शुल्क दुई पाङ्ग्रेका लागि प्रतिघण्टा १० र चार पाङ्ग्रेलाई २० रुपैयाँ तोकिएको छ। परिसर प्रवेशका लागि ५० रुपैयाँ शुल्क लिने व्यवस्था छ। विज्ञापन, भिडियो छायाङ्कन, र फोटोग्राफीका लागि थप शुल्क तोकिएको छ, जसअन्तर्गत राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा ५ हजार, भिडियो छायाङ्कनका लागि ५ हजार, र फोटोग्राफीका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*