वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिने सरकारको तयारी

१७ मंसिर २०८१, सोमबार १३:५२

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने योजना अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋणको व्यवस्था गर्न तयार गरेको कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको छ। श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको विकल्प नहुँदासम्म श्रमिकलाई चर्को ब्याजदरबाट मुक्त गराउन विना धितो सहुलियत ऋण दिन लागिएको जानकारी दिए।

सरकारले श्रमिकलाई मिटरब्याजको जालोबाट जोगाउन बजेट वक्तव्यमार्फत सस्तो ब्याजमा ऋण दिने योजना सार्वजनिक गरेको थियो। बजेटमा श्रम स्वीकृति लिएका व्यक्तिहरूलाई रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको थियो। यसै आधारमा मन्त्रालयले कार्यविधिको तयारी गरेको हो।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने प्रावधान अघि सारेको छ। श्रम स्वीकृति लिएका श्रमिकका बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा यस्तो ऋण उपलब्ध हुने व्यवस्था राष्ट्र बैंकले गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*