एक महिनामा जीवन बीमा ब्यवसाय साढे ४२ प्रतिशतले बढ्यो, नौ कम्पनीको ग्रोथ ४० प्रतिशत भन्दा माथि
काठमाडौं । एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १२ अर्ब ब्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिम मसान्तसम्मको तथ्याङ्क अनुसार हाल संचालनमा १४ जीवन बीमा कम्पनीले कात्तिक महिनामा मात्रै १२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।
कम्पनीले गरेको ब्यवसाय गत वर्ष कात्तिकको तुलनामा ४२.६० प्रतिशतले बढी हो । गत वर्ष सो महिनामा कम्पनीहरुले ८ अर्ब ६३ करोड ४६ लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।
एक महिनाको अवधिमा १४ वटै बीमा कम्पनीको ब्यवसाय बढेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा कात्तिक महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ब्यवसाय सबै भन्दा उत्कृष्ट देखिएको छ भने नेशनल लाइफ, एलआइसी नेपाल र हिमालयन लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो रहेका छन् ।
गत वर्ष कात्तिकको तुलनामा यस वर्ष कात्तिकमा नेपाल लाइफको ३७.४१ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ, नेशलन लाइफको ३९.१७ प्रतिशतले बढेर १ अर्ब ५३ करोड, एलआइसी नेपालको ४०.१५ प्रतिशतले बढेर १ अर्ब ४८ करोड र हिमालयन लाइफको २९.०९ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
त्यस्तै एक महिनाको अवधिमा सूर्यज्योति लाइफको बीमा ब्यवसाय ६४.३५ प्रतिशतले बढेर ७५ करोड १९लाख रुपैयाँ, एशियन लाइफको ४२.४४ प्रतिशतले बढेर ७० करोड ६७ लाख रुपैयाँ, सानिमा रिलायन्सलको २९.३३ प्रतिशतले बढेर ४८ करोड ७२ लाख रुपैयाँ, सिटिजन लाइफको ५८ प्रतिशतले बढेर ४४ करोड ८९ लाख रुपैयाँ, मेट लाइफको २४.१८ प्रतिशतले बढेर ४३ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ७४ प्रतिशतले बढेर ३८ करोड रुपैयाँ रहेको छ ।
गत कात्तिकको तुलनामा यस वर्ष कात्तिकमा राष्ट्रिय जीवन बीमा कम्पनीको ११३ प्रतिशतले बढेर ३७ करोड, रिलायबल नेपालको ७५ प्रतिशतले बढेर ३५ करोड, सन नेपालको ४४.२२ प्रतिशतले बढेर ३४ करोड र आइएमई लाइफको ५८ प्रतिशतले बढेर ३२ करोड रुपैयाँ ब्यवसाय गर्न सफल भएको छ ।