जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे ४२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ४२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले कात्तिक मसान्तसम्ममा ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नविकरण बीमा शुल्क आर्जन ४.५९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको कात्तिक मसान्तको अवधिमा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । चार महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क १२.६८ प्रतिशतले बढेर १२ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ८.६९ प्रतिशतले बढेर ५ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ पुग्दा नेशनल लाइफको २१.२८ प्रतिशतले बढेर ४ अर्ब ८९ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन ३३.६३ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नविकरण बीमा शुल्क मार्फत ८२ करोड ६८ लाख रुपैयाँ मात्र संकलन गरेको थियो ।
त्यस्तै, हिमालयन लाइफको १.१३ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड, सूर्यज्योति लाइफको १४.७८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड, एशियन लाइफको १३.९६ प्रतिशतले बढेर २ अर्ब २१ करोड, सिटिजन लाइफको २१.४९ प्रतिशतले बढेर १ अर्ब ५७ करोड, सानिमा रिलायन्स लाएफको ३.०४ प्रतिशतले बढेर १ अर्ब ५३ करोड र मेट लाइफको ९.७६ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ नविकरण बीमा शुल्क पुगेको छ ।
यसअवधिमा नविकरण शुल्क प्रभु महालक्ष्मी लाइफको ११.६४ प्रतिशतले बढेर १ अर्ब २३ करोड, आइएमई लाइफको २५.२८ प्रतिशतले बढेर १ अर्ब १३ करोड र सन नेपाल लाइफको १७.४५ प्रतिशतले बढेर ८६ करोड रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा कम्पनीको नविकरण बीमा शुल्क समेत घटेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ६६.८० प्रतिशतले घटेर १ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ ।