भारतमा चक्रवात फेङ्गलले निम्त्यायो विपत्ति, अर्बौं बीमा दाबी पर्न सक्ने अनुमान
काठमाडौँ । चक्रवात फेङ्गलका कारण भारतको तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ । यसबाट प्रभावित क्षेत्रहरूमा भारी वर्षा, बाढी र सम्पत्ति नष्ट हुँदा बीमा दाबीमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।
पुडुचेरीमा ३० वर्षयताकै सबैभन्दा ठूलो २४ घण्टे वर्षा ४८.४ सेन्टिमिटर मापन गरिएको छ, जसले थुप्रै घर डुबाएको, गाडीहरू जलमग्न बनाएको र मानिसहरूलाई राहत शिविरमा बस्न बाध्य बनाएको छ। तमिलनाडुमा बाढी र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
चक्रवातका कारण व्यक्तिगत सम्पत्ति, घर, गाडी र व्यवसायिक सम्पत्तिमा क्षति पुगेको छ । यसले जीवन बीमा र गैर–जीवन बीमासँग सम्बन्धित दाबीमा वृद्धि गराउने अनुमान गरिएको छ । जसमा अर्बौं बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ ।
बीमा कम्पनीहरूले बाढी, आँधी, र वर्षाका कारण हुने क्षतिका लागि दाबी प्रक्रिया सुरु गरिसकेका छन् । प्रारम्भिक तथ्यांक अनुसार हजारौँ बीमा दाबी पर्न सक्ने बीमा विशेषज्ञहरूको अनुमान छ । भारतको बीमा नियामक निकायले प्रभावित क्षेत्रका बीमा कम्पनीहरूलाई दाबी प्रक्रिया छिटो सम्पन्न गर्न भनेको छ ।
मौसम परिवर्तनका कारण यस्तो प्रकारका विपत्तिहरू बारम्बार हुने हुँदा बीमा गर्नुपर्ने आवश्यकतालाई झन् बलियो बनाएको छ ।