साढे ५ प्रतिशतसम्म आइपुग्यो बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?
काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर अर्थात् बेस रेट निरन्तर ओरालो लागि रहेको छ । हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुको बेस रेट साढे ५ प्रतिशत बिन्दुमा पुगेको हो ।
बैंकहरुले प्रकाशन गरेको मंसिर महिनाकाको ब्याजदर अनुसार औसत आधार दर घटेर ७.२४ प्रतिशत कायम भएको छ । यसअवधिमा बैंकहरुको औसत आधार दर ०.२० प्रतिशतले घट्न पुगेको छ । गत वर्ष कात्तिकमा बैंकहरुको औसत आधार दर ७.४४ प्रतिशत रहेको थियो ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले तरलता अधिक भए पनि आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून छ । यसले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन र आधार दर घटाउन प्रेरित गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।
आधार दरलाई ध्यानमा राख्दै सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकजस्ता बैंकहरूलाई प्राथमिकता दिन सक्ने देखिएको छ । यद्यपि, ग्राहकहरूले कर्जाको प्रकृति, बैंकको सेवा स्तर, र अन्य शुल्कहरू समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।
कुन बैंकबाट ऋण लिँदा सस्तो ?
मंसिर महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण प्रदान गर्ने देखिन्छ । हाल बैंकको आधार दर ५.५३ प्रतिशत छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ६.०१ प्रतिशत, एभरेष्ट बैंकको ६.४९ प्रतिशत, नेपाल एसबिआई बैंकको ६.६२ प्रतिशत र नबिल बैंकको ६.७६ प्रतिशत छ ।
यस्तै, हाल कृषि विकास बैंकको आधार दर ७.०६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७.२४, सानिमा बैंकको ७.२६, एनएमबि ७.३९, सिद्धार्थ बैंकको ७.४९, नेपाल एसबिआई बैंकको ७.५३, माछापुच्छ्रे बैंकको ७.५४ र प्रभू बैंकको ७.५८ प्रतिशत छ ।
यता, हिमालयन बैंकको आधार दर पनि ७.५९ प्रतिशत, कुमारी बैंकको ७.६४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७.७६, प्राइम बैंकको ७.९२, सिटिजन बैंकको ७.९५ र एनआइसी एशिया बैंकको ८.४३ प्रतिशत छ ।