राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज मंसिर १६ गते निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बोलकबोल मार्फत रकम तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणांकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यस क्रममा बहुब्याजदरमा पनि बोलकबोल गर्न मिल्ने व्यवस्था छ।
यो निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। संकलित रकम २१ दिनको अवधि पछि पुस ७ गते साँवा र ब्याजसहित भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बढ्दो तरलता व्यवस्थापन गर्दै वित्तीय स्थायित्व कायम राख्न राष्ट्र बैंकले यो कदम उठाएको हो। बैंकिङ प्रणालीमा थुप्रिएको तरलताले ब्याजदर र कर्जाको मागमा असन्तुलन सिर्जना गर्न सक्ने भएकाले यो प्रक्रिया प्रभावकारी हुने अपेक्षा गरिएको छ।