सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाः एनएमबि र राष्ट्रिय वाणिज्य बैंक मुख्य लगानीकर्ता
काठमाडौँ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ। परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित १३.५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडानको तयारी भइरहेको छ।
आयोजनाको निर्माणमा मुख्य लगानीकर्ता एनएमबि बैंक रहेको छ, जसले वित्तीय व्यवस्थापनको अग्रणी भूमिका निर्वाह गरेको हो। यसका साथै सह(वित्तीयकरणमा राष्ट्रिय वाणिज्य बैंक सहभागी रहेको छ। करिब दुई अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा सम्पन्न यो आयोजनाले क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको निर्माण स्नो रिभर्स लिमिटेडले २०७९ मंसिरको अन्तिम साताबाट सुरु गरेको थियो। छोटो अवधिमा सम्पन्न गरिएको आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा थप क्षमता विस्तार गरेको छ।
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु गरिएको थियो। उत्पादन गरिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसनमार्फत (१३२ केभीए) राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। सिरिजङ्घा(८ याम्फुदिनको राते खोलास्थित विद्युत् गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ।
आयोजनाको वित्तीय संरचनामा एनएमबि बैंकले अगुवा भूमिका निर्वाह गर्दै राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरेको छ। यसले ऊर्जा क्षेत्रमा बैंकिङ सहकार्यको सफल उदाहरण प्रस्तुत गरेको छ। ऊर्जा उत्पादनमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न यस प्रकारका आयोजनाले थप प्रेरणा दिने विश्वास सरोकारवालाले व्यक्त गरेका छन्।