६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाहीको तयारी
काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशभरका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ। बचतकर्ताको रकम फिर्ता नगर्ने र सम्पर्कमा नआउने सहकारी संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न यो कदम उठाइएको हो।
मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले बचतकर्ताले दिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार कारबाहीका लागि पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरू काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका छन्। पोखरेलले भने, “पीडितहरूको उजुरीपछि सम्बन्धित सहकारीलाई सम्पर्क गर्न हामीले पत्राचार गर्यौँ, तर धेरैजसो सञ्चालक सम्पर्कमै आउन चाहेनन्। कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गरिरहेका छन्। त्यसैले प्रहरी कार्यालयलाई कारबाही अघि बढाउन आग्रह गरेका छौँ।”
यसैबीच, बागमती प्रदेश सरकारले दुई सहकारी संस्थालाई समस्याग्रस्तको सूचीमा राखेको छ। मन्त्रालयका अनुसार काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको हो। दर्शन सहकारीलाई कात्तिक १२ गते र सिभिल सेभिङलाई २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरिएको हो।