स्थानीय तह उपनिर्वाचन आज, ४१ पदका लागि मतदान गरिँदै

१६ मंसिर २०८१, आईतवार ०६:५१

काठमाडौं । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत आज (आइतबार) देशका विभिन्न स्थानमा मतदान हुँदैछ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने यस निर्वाचनमा ४१ पदका लागि मतदान हुँदैछ।

आयोगले अन्तिम नामावलीमा नाम हुने मतदाताहरूलाई मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर वा सवारीचालक अनुमतिपत्र जस्ता कुनै पनि सक्कल प्रमाणपत्र प्रस्तुत गरेर मतदान गर्न आग्रह गरेको छ।

यस उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मतदान गर्न पाउनेछन्। महिला मतदाता १ लाख ११ हजार ८९६ जना र पुरुष १ लाख १४ हजार ९०० तथा अन्य ३ जनाले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। मतदानका लागि १६२ स्थल र २९३ केन्द्र निर्धारण गरिएको छ।

कीर्तिपुर नगरपालिकामा प्रमुख र वडाध्यक्ष पद रिक्त भएकाले त्यहाँ दुई प्रकारका मतपत्र प्रयोग गरिँदैछ। प्रमुख पदका लागि नगरभरका मतदाताले र वडाध्यक्ष पदका लागि सम्बन्धित वडाका मतदाताले मतदान गर्ने छन्।

यो उपनिर्वाचनमा २० राजनीतिक दलले सहभागिता जनाएका छन्। २५ दल दर्ता भए पनि पाँच दलले उम्मेदवारी दर्ता नगरेको निर्वाचन आयोगले जनाएको छ। कुल ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने तीन जना निर्विरोध निर्वाचित भइसकेका छन्।

२०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित केही पदाधिकारीको निधन वा अन्य कारणले पद रिक्त भएका थिए। यसरी रिक्त पदलाई पूर्ति गर्न उपनिर्वाचन गर्न लागिएको हो।

मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत अद्यावधिक गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*