स्वोल्ट एनर्जीले ग्रेट वाल मोटोर्सका लागि ब्याट्री निर्माण गर्दै गरेको यूरोपका परियोजना स्थगित गर्‍यो

१४ मंसिर २०८१, शुक्रबार १७:४४

काठमाडौँ । चिनियाँ ब्याट्री निर्माता स्वोल्ट एनर्जीले जर्मनीमा निर्माणाधीन दुई ब्याट्री कारखाना परियोजना स्थगन गरेको छ। कम्पनीले यी परियोजनाको पुनःनिर्माणका लागि कुनै समयसीमा तोकेको छैन । यसबारे चिनियाँ मिडिया कैक्सिनले स्वोल्टसँग निकट रहेका धेरै स्रोतलाई उद्धृत गर्दै खबर सार्वजनिक गरेको हो ।

स्वोल्टले जर्मनीको सारल्यान्ड र ब्रान्डनबर्गमा दुई कारखाना निर्माणको योजना बनाएको थियो । सारल्यान्डमा ब्याट्री मोड्युल र प्याक प्लान्टको घोषणा २०२० को नोभेम्बरमा गरिएको थियो, जसले २४ गीगावाट आवरको डिजाइन क्षमता सहित २ अर्ब यूरोको लगानीमा २०२४ को मध्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । त्यसैगरी, ब्रान्डनबर्गमा ब्याट्री सेल प्लान्ट निर्माणको योजना २०२२ को सेप्टेम्बरमा घोषणा गरिएको थियो। वार्षिक १६ GWh उत्पादन क्षमतासहित २०२५ मा सञ्चालनमा आउने लक्ष्य भएपनि यस वर्षको मध्यदेखि यसको निर्माण रोकिएको छ।

दुवै परियोजनामा काम अहिले पूर्ण रुपमा रोकिएको छ। स्वोल्टलाई आफ्नो घरेलु बजारमा नै चुनौती भैरहेको र विदेशमा कारखाना निर्माणको भार धान्न नसक्ने अवस्थाका कारण यस्तो निर्णय लिइएको बताइएको छ। यी दुई युरोपियन कारखानाको निर्माणका लागि ३० अर्ब चिनियाँ युआनको लगानी आवश्यक पर्ने र यो स्वोल्टजस्तो मध्यम आकारको ब्याट्री निर्माता कम्पनीका लागि अत्यधिक भएको स्रोतले जनाएको छ ।

यो निर्णय कुनै प्राविधिक वा स्थानीय नीतिका कारण नभई कम्पनीको वर्तमान वित्तीय अवस्थाका कारण गरिएको हो। स्वोल्टले पहिले आफ्नो पूँजी समस्या समाधान गर्नुपर्ने भन्दै निर्माण कार्य रोकिएको बताइएको छ।

स्वोल्ट एनर्जीले २०१८ मा ग्रेट वाल मोटरबाट अलग भई स्वतन्त्र कम्पनीको रूपमा काम गर्न थालेको थियो। यो चीनको ठूलो ब्याट्री निर्माता मध्ये एक हो। २०२४ को सेप्टेम्बरमा १.२९ GWh ब्याट्री उत्पादनसहित स्वोल्ट घरेलु बजारमा ८औँ स्थानमा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*