एनपीएल : सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स नियुक्त
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने तयारीमा रहेको टोली सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स नियुक्त भएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम रोयल्स टोलीका मालिक स्वतन्त्र प्रताप शाह र सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालको क्रिकेट क्षेत्रलाई प्रोत्साहन गर्न र खेलाडीहरुलाई आर्थिक र व्यवसायिक रुपमा अगाडी बढाउने उद्देश्यले सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरको रुपमा सम्झौता गरेको कम्पनीले जनाएको छ ।
जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछन् । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् ।
साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।