पुँजी बजारका लगानीकर्ता हेरेको हेर्यै, अब के होला ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै शेयर बजारका लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ताले यो समीक्षाबाट विशेषगरी शेयर धितो कर्जामा लगाइएको क्याप हटाउने, जोखिम भार १०० प्रतिशतमा झार्ने, र माइक्रो फाइनान्सको लाभांश वितरणमा लगाइएको सीमा खुकुलो पार्ने अपेक्षा गरेका थिए। तर, समीक्षा कुनै नयाँ नीतिगत सुधार बिना नै सार्वजनिक हुँदा लगानीकर्ता निराश बनेका छन्।
राष्ट्र बैंकले पुराना नीतिहरूलाई मात्र निरन्तरता दिएको छ, जसले लगानीकर्ताको आशा पूरा गर्न सकेन। विश्लेषकहरूले भने यस्तो स्थितिमा लगानीकर्ताको निराशा स्वाभाविक भएको बताएका छन्।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैतमा सकिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारलाई उच्च प्राथमिकता दिँदै आएका भए पनि गर्भनर अधिकारीले मौद्रिक नीतिलाई थप लचिलो बनाउन कदम चालेनन्। गर्भनर अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ दुवैलाई एमाले निकट मानिन्छ। यस्तो अवस्थामा लगानीकर्ताले एमालेकै नेतृत्वको सरकारलाई सफल बनाउने गरी बजारलाई सहजीकरण गरिने अपेक्षा गरेका थिए।
केही लगानीकर्ताले भने हालको मौद्रिक नीति र नियामक निकायहरूको दृष्टिकोणलाई सन्तोषजनक मानेका छन्। उनीहरूका अनुसार बजार आफैंले आफ्नो सन्तुलन कायम गर्दै अघि बढ्न सक्नेछ।
अब, बजारको आगामी दिशा कस्तो हुनेछ भन्ने प्रश्नले सबैको ध्यान तानेको छ। यसको उत्तर आगामी आइतबारको कारोबारले दिनेछ।