एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १८ प्रतिशतले बढ्यो, कस्को ग्रोथ कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ करोड ४८ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा उक्त ब्यवसाय १८.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए ।
चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो ब्यवसाय १८.३४ प्रतिशतले बढाएर ३४ करोड ४ लाख रुपैयाँ पुराएको हो । कम्पनीले आर्जन गरेको बीमा शुल्क निर्जीवन बीमा कम्पनी मध्यकै धेरै हो ।
त्यस्तै, कात्तिकमा सर्वाधिक बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महिनाको अवधिमा २९ करोड ६ लाख रुपयाँको ब्यवसाय गर्ने सफल भएको हो । कम्पनीले आर्जन गरेको ब्यवसाय गत कात्तिकको तुलनामा ८.३५ प्रतिशतले बढी हो ।
यता, चालु आर्थिक वर्षको कात्तिक महिनामा क्रमशः शिखर इन्स्योरेन्सको ब्यवसाय २४.९५ प्रतिशतले बढेर २९ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १६.४९ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलको ०.७७ प्रतिशतले बढेर २३ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टको २४.७० प्रतिशतले बढेर २३ करोड १० लाख रुपैयाँ, सानिमा जिआईसिको ६२.२५ प्रतिशतले बढेर १९ करोड ३ लाख रुपैयाँ र एनएलजिको १८.०६ प्रतिशतले बढेर १८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
साथसाथै, एक महिनाको अवधिमा नेपाल इन्स्योरेन्सको ब्यवसाय ४२.४६ले बढेर १७ करोड २३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ७.१८ प्रतिशतले बढेर १५ करोड ३ लाख रुपैयाँ, ओरियन्टलको ४२.२२ प्रतिशतले बढेर ९ करोड ९ लाख, नेशनल इन्स्योरेन्सको २१ प्रतिशतले बढेर ७ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ३३ प्रतिशतले बढेर ४ करोड १० लाख रुपैयाँ रहेको छ । यसअवधिमा युनाइटेड अजोडको ब्यवसाय मात्र घटेको छ ।