निर्जीवन बीमा कम्पनीको व्यवसाय १०% ले बढ्यो, अग्रस्थानमा सलिको, बृद्धिदरका नेपाल–ओरियण्टल र नेशनल इन्स्योरेन्सअघि
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् ।
हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आवको सोही अवधिको तुलनामा १०.७४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवमा १२ अर्ब ७३ करोड चार लाख रुपैयाँको व्यवसाय आर्जन गरेका थिए ।
कात्तिक मसान्तसम्मको अवधिमा बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योेरेन्स अग्रस्थानमा रहेको छ भने गत आवको सोही अवधिको तुलनामा नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन सबैभन्दा बढी अंकले बृद्धि भएको् छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन गत आवको तुलनामा १०.६८ प्रतिशतले बढेर एक अर्ब ७७ करोड रुपैयाँको व्यवसाय गरेको छ ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६६ प्रतिशतले बढेर एक अर्ब ४६ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १०.७३ प्रतिशतले बढेर एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको तुलनामा नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ८.८१ प्रतिशतले बढेर एक अर्ब १५ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.४३ प्रतिशतले एक अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३.७६ प्रतिशतले बढेर एक अर्ब १३ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सको १२.६४ प्रतिशतले बढेर बीमा शुल्क आर्जन ९४ करोड १९ लाख रहेको छ ।
बृद्धिदरका आधारमा
गत आर्थिक वर्षको कात्तिक महिना सम्मको तुलनामा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन सबैभन्दा बढी अंकले बढेको छ । कम्पनीको यस्तो आर्जन ५८.५८ प्रतिशतले बढेको छ ।
त्यस्तै, द ओरियन्टल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५७.४३ प्रतिशत, नेशनल इन्स्योरेन्सको बीमा शुल्क आर्जन १३.५८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको १२.६४ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढेको छ ।