सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

१२ मंसिर २०८१, बुधबार १२:२३

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । मंगलबार अर्थात मंंसिर ११ गते सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

कपिलवस्तु, यशोधरा गाउँपालिका–७ सोमढीहस्थित सडकमा लु–५५ प ३७३४ नम्बरको मोटरसाइकल र यूपी ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा लु–५५ प ३७३४ नम्बरको मोटरसाइकल चालक यशोधरा गाउँपालिका–८ सिंहखोर बस्ने ३१ वर्षीय सब्दान हुसेन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, मोरङको बुढिगंगा गाउँपालिका–५ गाउँपालिकाको भवन नजिक सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय जलेश्वर सरदारको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बागझोडास्थित सडकमा प्र १–०२–०४६ प ३२१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० बस्ने ६४ वर्षीया सीता गुरागाईको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका–१ कमलपुलस्थित सडकमा प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र मे।६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*