सुरक्षित छैनन् खल्तीका ग्राहक, व्यक्तिगत विवरण सोझै आपराधिक गिरोहलाई बेच्नेदेखि ठगी र साइबर अपराधसम्म
काठमाडौं । ठगी र साइबर अपराधमा विद्युतीय भुक्तानी सेवा प्रदायक खल्तीका कर्मचारी नै पक्राउ परेसँगै यो क्षेत्रमा काम गर्ने कम्पनीका थप रहस्यहरु छताछुल्ल हुने भएका छन् । खल्तीका ग्राहककै व्यक्तिगत विवरण तथा गोप्य कोर्डहरु चोरी गरेर आपराधिक गिरोहलाई बेचेको घटनाले इकमर्शका काम गर्ने कम्पनीका थप रहस्यहरु छताछुल्ल हुने भएका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार मात्रै खल्तीको वालेट केवाईसी रुजु गर्ने दुई कर्मचारी र विचौलिया बनेर काम गरेका एक व्यक्तिलाई पक्राउ गरेको थियो । यो घटनासँगै ग्राहकको व्यक्तिगत विवरण दुरुपयोग मात्र नभई खल्तीभित्र कै कर्मचारीको मिलेमतोमा ठगी र साइबर अपराध हुने गरेको पुष्टि भएको हो । उपत्यका अपराधले खल्तीबारे ठगीमा अनुसन्धान अघि बढाएको छ भने साइबर व्यूरोले साइबरतर्फबाट छुट्टै अनुसन्धान अघि बढाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार खल्तीका ग्राहकको नागरिकता समेत दुरुपयोग गरेर अर्कै व्यक्तिका नाममा वालेट खोलेर रकम असुली, अनलाइन सामान खरिदविक्री तथा ठगी गर्ने गरेको भेटिएको छ । बीमापोष्टसँग उनले भने, ‘यसमा हामीले छुट्टा छुट्टै अनुसन्धान अघि बढाएका छौँ । किन भने सुरेन्द्र बस्नेत नाम गरेको व्यक्ति सुरुमा कर्मचारी भनिएकामा पछि विचौलिया रहेको पुष्टि भयो । यसको अर्थ जालो भित्रसम्म हुन सक्छ । अथ अनुसन्धान जारी छ ।’
यो विषयमा आन्तरिक रुपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले समेत अनुसन्धान गरेको बताइएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीले भने उक्त गोप्य मिसनबारे बताउन मानेनन् । गोप्य अनुसन्धानमा संलग्न एक सीआईबी अधिकारीका अनुसार खल्तीको वालेटको दुरुपयोग गरी देशी विदेशी थुप्रैलाई ठगिएको देखिन्छ । त्यस्ता गिरोहको सम्पर्क अतिवादी संगठनहरुसँग समेत देखिन आएको छ ।
गल्ती, इसेवालगायतका विद्युतीय भुक्तानी सेवाबारे यसअघि राष्ट्र बैंक र अर्थमन्त्रालयले छानविन गरे पनि त्यो प्रतिवेदन अहिलेसम्म लुकाइएको छ । प्रतिवेदन लुकाउन तत्कालीन समय प्रधानमन्त्री केपी शर्मा ओलीका आईटीविज्ञ नै संलग्न रहेको तथ्य समेत बाहिर आएको थियो । त्यसबेला यसबारे खासै चासो नराखिएकामा अहिले विदेशी पर्यटकहरु समेत लुटिएपछि यसबारे अनुसन्धान भइरहेको हो ।
राष्ट्र बैंक भने विद्युतीय भुक्तानी सेवा प्रदायकको बदमासीबारे बेखबर देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले यसबारे आफुहरुलाई आधिकारिक जानकारी नभएको बताए । उनले भने, ‘यस विषयमा छानविन वा कुनै अध्ययन अनुसन्धान भएको भए हामी छलफल गर्छौ । यो गम्भीर विषय हो ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले धादिङको ज्वालामुखी गाउँपालिका-५ स्थायी घर भई हाल काठमाडौं लितगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका-४ घरभई हाल काठमाडौं कलंकी बस्ने सविनकुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका-२ घर भई हाल पशुपति क्षेत्रमा बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनीहरुले खल्तीका ग्राहकको व्यक्तिगत विवरण आपराधिक गिरोहसँग कमिसन लिई विक्री गरेको भेटिएको छ । अनुसन्धानका क्रममा उनीहरुले ग्राहकको व्यक्तिगत विवरणबाट अन्य व्यक्तिको नाममा फरक-फरक मोबाइल नम्बर लिई ५५ भन्दा बढी गैरकानूनी वालेट खोलेर भेरिफाइ समेत गरेर आर्थिक कारोबार गरेको भेटिएको एसएसपी भट्टराईले बीमापोष्टलाई बताए ।