सेबोनका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, ‘सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिन्छु’
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले मंगलबार अर्थमन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएपछि बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणका क्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई भाडाको घरबाट हटाएर आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरे। ‘सेबोन जस्तो महत्वपूर्ण संस्थालाई भाडाको घरमा सञ्चालन गर्नु उपयुक्त होइन। त्यसैले आफ्नो कार्यकालमा बोर्डको आफ्नै भवन निर्माणलाई प्राथमिकतामा राख्नेछु,’ उनले भने।
श्रेष्ठले पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका हितमा काम गर्ने वचन दिए। ‘नेतृत्व अभावका कारण धेरै कामहरू रोकिएका छन्। ती कामहरू पूरा गर्न म दिनरात नभनी लागिपर्नेछु,’ उनले बताए।
पदभार ग्रहणसँगै उनले आफ्नो पहिलो निर्णयका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरेका छन्। यो निर्णयले लगानीकर्ताको विश्वास बढाउने अपेक्षा गरिएको छ।
श्रेष्ठले नेपाल सरकारबाट प्राप्त निर्देशनका आधारमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए। ‘पुँजीबजारलाई थप व्यवस्थित र समावेशी बनाउन सरकारले दिएको मार्गदर्शनलाई कार्यान्वयन गर्नेछु,’ उनले स्पष्ट पारे।
अध्यक्ष श्रेष्ठले पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने र विस्तार गर्न विशेष पहल गर्ने बताएका छन्। ‘पुँजीबजारको सुधार र विस्तारलाई तीव्र बनाउन बोर्डको नीति र योजना परिणाममुखी हुनेछन्,’ उनले भने।
श्रेष्ठको नेतृत्वमा सेबोनले कस्तो सुधार र परिवर्तन ल्याउँछ भन्ने कुरा अबको कार्यकालमा देखिने अपेक्षा गरिएको छ।