पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायमा परिमार्जित पाठ्यक्रम लागू
काठमाडौं । पोखरा विश्वविद्यालयको व्यवस्थापन अध्ययन संकायले स्नातक र स्नातकोत्तर तहमा परिमार्जित पाठ्यक्रम लागू गरेको छ। बिबिए, बिबिए (फाइनान्स), बिबिए (ट्राभल एण्ड टुरिज्म), एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) का नयाँ पाठ्यक्रम शैक्षिक सत्र २०२४ देखि लागू भएका छन् भने विएचएम र बिसिएसआइटीका नयाँ पाठ्यक्रम २०२३ सत्रदेखि नै लागू गरिसकिएको थियो।
नयाँ पाठ्यक्रमले बदलिँदो विश्व परिवेश, आर्थिक, सामाजिक, व्यवसायिक र प्रविधिको आवश्यकतालाई सम्बोधन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ। स्नातक तहमा प्रत्येक सेमेस्टरमा प्रयोगात्मक सिकाइ, प्रोजेक्ट वर्क र कम्युनिटी इङगेजमेन्ट जस्ता कोर्षहरू राखिएको छ। अन्तिम आठौं सेमेस्टरमा इन्टर्नशिप अनिवार्य गरिएको छ जसले विद्यार्थीलाई रोजगारी र व्यवसायिक अनुभव प्राप्त गर्न सहयोग पु¥याउने विश्वविद्यालयले बताएको छ।
स्नातक तहको पाठ्यक्रममा १२० क्रेडिट आवर समावेश गरिएको छ। कुल ४८ महिनामा ४२ महिना कलेज कोर्स र ६ महिना इन्टर्नशिप गरेर अध्ययन पूरा हुन्छ। बिबिए (फाइनान्स) नाम दिइएको नयाँ पाठ्यक्रममा बैंकिङ, बिमा, कर्पोरेट फाइनान्स र पूँजी बजारजस्ता दुई विधामा विशिष्टिकरण गर्न सकिन्छ।
स्नातकोत्तर तहमा एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) का पाठ्यक्रमहरूमा पनि प्रयोगात्मक सिकाइ र प्राक्टिकम कोर्सहरू समावेश गरिएका छन्। यस तहमा ६० प्रतिशत क्रेडिट आवरको पाठ्यक्रम संरचना तयार गरिएको छ। २० महिनाको कलेज अध्ययन र ४ महिनाको इन्टर्नशिपसहित कुल २४ महिनामा अध्ययन पूरा हुनेछ।
एमबिए कोर्षलाई ट्राइमेस्टर प्रणालीमा सञ्चालन गरिएको छ जुन नेपालमा पोखरा विश्वविद्यालयमा मात्र पाइन्छ। प्रत्येक ४ महिनाको ट्राइमेस्टरमा प्रभावकारी र समयानुकूल कोर्सहरू समावेश गरिएका छन्। साथै इन्टर्नशिपका लागि स्वदेश र विदेश दुवै ठाउँमा अनुभव लिन सकिने व्यवस्था गरिएको विश्वविद्यालयले जानकारी दिएको छ।
नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यावसायिक दक्षता र अनुसन्धान क्षमतामा वृद्धि गर्दै रोजगारीमुखी र व्यवसायमुखी बनाउने विश्वास विश्वविद्यालयले गरेको छ। कलेजहरूले २५ प्रतिशतसम्म क्रेडिट स्वायत्त रूपमा सञ्चालन गर्न सक्ने भएकाले बजारको मागअनुसार नयाँ विषय समावेश गर्न सकिने पनि पोखरा विश्वविद्यलायले बताएको छ।