कर्णाली विकास बैंक समस्याउन्मुख, निक्षेप र कर्जा कारोबारमा रोक

११ मंसिर २०८१, मंगलवार १०:०२

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय अवस्था समस्याग्रस्त देखिएपछि नेपाल राष्ट्र बैंकले यस बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ।

नेपालगञ्जमा रहेको यस विकास बैंकमा राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा तोकिएको पूँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको र वित्तीय सूचक कमजोर देखिएका कारण राष्ट्र बैंकले कारबाही गरेको हो।

कर्णाली विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा १ करोड ९८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।

राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई ६ महीनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*