एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन पाईने

११ मंसिर २०८१, मंगलवार ०६:००

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आज देखि आवेदन दिन पाउने भएको छ।कम्पनीको हकप्रद प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद आजदेखि बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाइन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीलाई यो हकप्रद शेयर निष्कासनका लागि बोर्डले असोज ११ गते अनुमति दिएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि २०८० कात्तिक २ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले तत्काल कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापूँजीको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।

सोही निर्णयबमोजिम कम्पनीले २०८० कात्तिक २ गते ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ ।

भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनरावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई कात्तिक ७ गते सम्पन्न विशेष साधारण सभाले स्वीकृतिसमेत प्रदान गरिसकेको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी दुई अर्ब ५० करोड पुयाउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो। यसपछि कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार पुग्नेछ।
यो हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।

 

 

One thought on “एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन पाईने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*