नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त
काठमाडौँ। लामो समयदेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्डले अन्ततः सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षका रुपमा पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको नयाँ नेतृत्व प्रदान गर्ने निर्णय गरेको हो।
यस पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो। सिफारिसमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो। अन्ततः मन्त्रिपरिषद्ले सन्तोष नारायण श्रेष्ठलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्ड पुस २०८० देखि अध्यक्षविहीन थियो। यस अवधिमा, सरकारद्वारा अर्थ मन्त्रालयका सहसचिवलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिनु परेको थियो। तर, यस्तो व्यवस्थाले बोर्डका धेरै कामकाज र नीतिगत निर्णयहरूमा ढिलाइ भइरहेको अवस्था थियो।
श्रेष्ठको नेतृत्वमा बोर्डले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै पूँजी बजारको व्यवस्थापन र विकासमा गति ल्याउने अपेक्षा गरिएको छ। नेपालको धितोपत्र बजारमा नीतिगत सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि र पूँजी बजारमा नवप्रवर्तन ल्याउन श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहने विश्वास गरिएको छ।
नयाँ नेतृत्वबाट विशेष गरी धितोपत्र बजारको अन्तर्राष्ट्रियकरण, नीतिगत स्थायित्व, र लगानीकर्ताहरूका समस्याहरू समाधान गर्ने कार्यलाई प्राथमिकता दिने आशा गरिएको छ। यस नियुक्तिले धितोपत्र बोर्डलाई अझै सुदृढ र विश्वासिलो बनाउने अपेक्षा छ।