हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं
काठमाडौँ । गुणस्तरमा गम्भीर समस्या देखिएपछि हुन्डाई र कियाले आफ्ना लाखौं गाडि फिर्ता मागेको छ । कम्पनीको लापरबाहीले सवारी साधनहरूमा एक गम्भीर समस्या उत्पन्न भएपछि हुन्डाई र कियाले २ लाख ८ हजार भन्दाबढी विद्युतीय गाडि रिकल गरेको हो ।
उक्त सवारीहरुमा ड्राइभ पावर गुम्न र दुर्घटनाको जोखिम बढ्न सक्ने कमजोर देखिएको हो । यो रिकल हुन्डाई र जेनेसिसका १ लाख ४५ हजार भन्दा बढी सवारी साधनहरु रहेका छन् । यसमा आइओनिक ५ र आइओनिक ६ विद्युतीय सवारी साधनहरू साथै जेनेसिस जिभी ६०, जिभी ७० र जिभी ८० मोडेलहरू रहेका छन् ।
नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन का अनुसार प्रभावित सवारी साधनहरूको चार्जिङ कन्ट्रोल युनिटमा रहेको ट्रान्जिस्टर्समा समस्या देखिएको छ, जसका कारण १२–भोल्टको ब्याट्री चार्ज हुन सक्दैन । यसको परिणामस्वरूप ड्राइभ पावर गुम्न सक्छ, जसले दुर्घटनाको खतरा बढाउँछ ।
कियाका २०२२ देखि २०२४ सम्मका लगभग ६३ हजार ईभी सवारी साधनहरू पनि यस रिकलमा समावेश छन् । किया र हुन्डाईका डिलरहरूले प्रभावित सवारी साधनहरूको कन्ट्रोल युनिटको निरीक्षण र फ्युजको प्रतिस्थापन गर्नेछन् । साथै, सफ्टवेयर पनि अपडेट गरिनेछ । यसैगरी, पहिले नै रिकल भएका मालिकहरूलाई पुनः डिलरसँग सम्पर्क गर्नु पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा गुणस्तरमा समस्या देखिएपनि नेपालमा हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र कियाको बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यसबारे कुनै विशेष जानकारी दिएको छैन । यी गाडीहरूमा सवारीका केही प्रमुख प्रणालीहरूमा गडबडी उत्पन्न भएकाले प्रयोगकर्ताहरूलाई जोखिम हुन सक्ने सम्भावना रहेको छ ।
हुन्डाई गाडीको विक्रीमा यस समस्याले गम्भीर असर पुर्याउन सक्छ । ग्राहकहरूको सुरक्षा एकदम महत्त्वपूर्ण हुन्छ र यस्तो गडबडीले सवारी दुर्घटनामा परिणत हुन सक्छ । तथापि, कम्पनीले अहिलेसम्म यसको समाधानतर्फ कुनै स्पष्ट कदम उठाएको देखिँदैन । नेपालमा बिक्री भइरहेको गाडीहरूको गुणस्तर र सुरक्षा सम्बन्धी स्पष्ट जवाफ आवश्यक छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको ध्यान ग्राहकको सुरक्षा र सवारीका गुणस्तरमा हुनुपर्ने थियो, तर हालसम्म यो समस्या समाधान गर्नका लागि उपयुक्त कदमहरू नअपनाइएको जस्तो देखिन्छ ।