अनुसन्धानमा नैतिकता र स्वास्थ्य सेवामा विश्वास हुनुपर्छ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम् नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एसिया एन्ड वेस्टर्न रिजन (फरक्याप) को २४औँ शिखर सम्मेलनको उद्घाटन सत्रमा उनले अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार रहेको बताए ।
नेपालमा पहिलोपटक आयोजना गरिएको यस सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रिस, केन्या, ब्राजिल, भारत लगायतका २३ देशका विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएका छन् ।
मङ्सिर १२ गतेसम्म चल्ने सम्मेलनको पहिलो दिन अनुसन्धानको स्वीकृतिपछि अनुसन्धानकर्ता तथा आचारसंहिता पुनरावलोकन समितिमा भएका विज्ञहरूको भूमिकाबारे सहभागीलाई तालिम प्रदान गरिएको थियो ।
स्वास्थ्य अनुसन्धान र प्रविधिको निरन्तर विकाससँगै यस क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, परीक्षण अत्यन्त जिम्मेवारीपूर्वक सञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको र सम्मेलनले विद्यमान चुनौतीको पहिचान तथा उचित सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले विश्वास गरेको छ ।