नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गर्दा सिबिफिन उत्साहित
काठमाडौँ । अन्तर्राष्ट्रिय साख मूल्याङ्कन एजेन्सी ‘फिच रेटिङ’ द्वारा नेपालको सार्वभौम साख मूल्याङ्कनमा ‘बीबी माइनस’ रेटिङको सन्तोषजनक नतिजा प्राप्त गरिएको छ। यससँगै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) अत्यन्तै गर्वित र उत्साहित भएको छ। यस रेटिङले नेपाललाई दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा छिमेकी मित्रराष्ट्र भारतको पछि दोस्रो उच्च साख मूल्याङ्कन प्राप्त गर्ने राष्ट्रको रूपमा उभ्याएको छ, जसले नेपालको साख र विश्वसनीयता वृद्धि मात्र गरेको छैन, साथै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाललाई सुरक्षित, विश्वसनीय र भरपर्दो स्थानको रूपमा प्रमाणित गरेको छ।
नेपालको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो स्थितिमा रहेका, पर्याप्त तरलता र न्यून ब्याजदरको बावजुद, आर्थिक गतिविधिहरू अपेक्षाकृत तीव्रता प्राप्त गर्न नसकेको अवस्थामा पनि यस मूल्याङ्कनले समग्र निजी क्षेत्रका लागि विश्वासको वातावरण सृजना गरेको छ। यसले लगानी विस्तार, कर्जा प्रवाह र पूँजी परिचालनको लागि ठूलो अवसरको सिर्जना गरेको सिबिफिनको बुझाइ छ।
यस मूल्याङ्कनले बैंक तथा वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीलाई अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, र विदेशी बजारमा ऋण लिन वा ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सकारात्मक प्रभाव पार्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गरेको सन्दर्भमा, सिबिफिनले साख मूल्याङ्कनमा देखिएका कमीकमजोरीहरूको सुधार गर्दै, मौजुदा नीति र वातावरणलाई अझ सहज र अनुकूल बनाउन आवश्यक पहलकदमी तुरुन्त अघि बढाउने अपेक्षाको साथ नेपाल सरकार र सबै सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएको छ। यसले समग्र निजी क्षेत्रलाई समेटेर नेपाललाई लगानी केन्द्रको रूपमा स्थापित गर्ने र दिगो आर्थिक र बैंकिङ विकासमार्फत समृद्धिको नयाँ यात्रा प्रारम्भ गर्ने दिशामा काम गरिने विश्वास व्यक्त गरेको छ।