के विद्युतीय कारका ब्याट्री छिट्टै बिग्रन्छन् ? यस्तो छ तथ्य
काठमाडौँ । विद्युतीय कारका ब्याट्रीहरू छिटो बिग्रन्छन्, केही वर्षमै फेर्नुपर्छ र त्यसका लागि महँगो लागत लाग्छ भन्ने मिथकले धेरैलाई अलमल्लमा पारेको छ। पछिल्लो समय नेपाली अटोबजारमा समेत यस्ता भ्रामिक कुराहरु आउने गरेका छन् ।जसले सर्वसाधारणले ईभी खरिद गर्नु नै खतरा रहेको प्रतिक्रिया दिन्छन् । यस्ता मिथकहरूले विद्युतीय सवारी साधनप्रतिको विश्वास घटाउने खतरासमेत उत्पन्न गरेको छ। तर वास्तविकता यसभन्दा फरक छ।
विद्युतीय सवारी साधनको ब्याट्रीको वास्तविक प्रदर्शनबारे गरिएको अध्ययनले यस्ता मिथकहरूलाई खण्डन गरेको छ। व्यवस्थापन परामर्शदातृ संस्था पि३ ले गरेको अध्ययनले विद्युतीय कारहरूको वास्तविक डाटामा आधारित रहेर यो निष्कर्ष निकालेको हो। यो अध्ययनले विभिन्न ब्रान्डका ५० विद्युतीय सवारीसाधनको प्रत्यक्ष अवलोकन गरेपछि ७ हजार वटा कारहरूको विस्तृत डाटा विश्लेषण गरेको छ।
पि३ को अध्ययनअनुसार विद्युतीय कारका ब्याट्रीहरूले पहिलो ३० हजार किलोमिटरको अवधिमा अपेक्षाकृत छिटो क्षयको सामना गर्छन्। नयाँ अवस्थामा १०० प्रतिशत ‘स्टेट अफ हेल्थ’ भएको ब्याट्री यो दूरीसम्म आइपुग्दा लगभग ९५ प्रतिशतमा झर्छ।
यो क्षयको प्रमुख कारण भनेको ब्याट्रीमा एसईआई तह बन्नु हो। यो तह ब्याट्रीको चार्ज र डिसचार्ज हुने प्रक्रियामा अनिवार्य रूपमा बन्ने रसायनिक पदार्थको तह हो। तर, यसले सवारी साधनको प्रदर्शनमा लामो समयसम्म नकारात्मक प्रभाव पार्दैन।
अध्ययनका अनुसार १ लाख किलोमिटर (६० हजार माइल) पछि ब्याट्रीको स्वास्थ्य लगभग ९० प्रतिशतको आसपास रहन्छ। यो बिन्दुपछि क्षयको गतिको कमी आउँछ। २ लाख देखि ३ लाख किलोमिटर (१ लाख २० हजार देखि १ लाख ८० हजार माइल) बीचमा ब्याट्रीको ‘स्टेट अफ हेल्थ’ झन्डै ८७ प्रतिशतसम्म रहन्छ।
पि३को डाटाले देखाएको अनुसार उच्च माईलेज भएका विद्युतीय सवारीहरूमा ब्याट्रीको वास्तविक क्षमताले लामो समयसम्म राम्रो प्रदर्शन गर्ने देखिएको छ। अध्ययनको नतिजा अनुसार, ब्याट्रीको नियन्त्रण प्रणाली र प्रयोगकर्ताको ड्राइभिङ प्रोफाइलले ब्याट्रीको आयुमा सकारात्मक प्रभाव पार्छ।
अध्ययनले विद्युतीय सवारीसाधनका ब्याट्रीहरू अपेक्षा गरिएभन्दा लामो समयसम्म टिक्ने निष्कर्ष निकालेको छ। यसले विद्युतीय सवारीसाधनमा ब्याट्रीको मर्मत र प्रतिस्थापनसम्बन्धी धेरै मिथकहरूलाई खण्डन गर्न मद्दत पुर्याएको छ। उदाहरणका लागि, पहिलो पुस्ताका टेस्ला जस्ता सवारीसाधनमा पनि हालसम्म ब्याट्री परिवर्तनका घटनाहरू न्यून रहेको छ। पि३ को विश्लेषणमा ७ हजार भन्दा बढी विद्युतीय सवारीसाधनहरूको डाटामा यो पुष्टि गरिएको हो।
अध्ययनको रिपोर्टले विद्युतीय सवारीसाधनको बजार विस्तारका लागि सत्य तथ्य प्रस्तुत गर्नु आवश्यक रहेको जनाएको छ। विद्युतीय सवारीसाधनप्रतिको मिथकले धेरैलाई अनावश्यक डर फैलाउन सक्छ। यस अध्ययनमा अभिलू नामक अष्ट्रियन कम्पनीले पनि सहकार्य गरेको थियो, जसले ६० हजार भन्दा बढी सवारीसाधनमा ब्याट्री परीक्षण गरिसकेको छ। यसले वातावरणीय प्रभाव, ड्राइभिङ बानी, र ब्याट्री व्यवस्थापन प्रणालीले ब्याट्रीको प्रदर्शनमा पार्ने प्रभावसम्बन्धी विस्तृत जानकारी दिएको छ।
विद्युतीय गाडीको ब्याट्रीले सामान्यतया गाडीको ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी समयभन्दा धेरै टिक्छ। वारेन्टी समयपछि पनि यसलाई “सेकेण्ड-लाइफ ब्याट्री”को रूपमा ग्रिड-स्टोरेजका लागि उपयोग गर्न सकिन्छ। यसरी, ब्याट्रीको जीवन चक्र करिब २० वर्ष वा सोभन्दा बढी हुने सम्भावना छ।
पि३ ले ब्याट्रीको आयु लम्ब्याउन निम्न सुझावहरू दिएको छः
-तापक्रम नियन्त्रण: गाडीलाई २५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्न सुझाव दिइएको छ। ६० डिग्रीभन्दा माथिको तापक्रमले रासायनिक प्रतिक्रियालाई बढाउँछ, जसले ब्याट्रीको क्षमता छिटो घटाउँछ।
-चार्ज स्तर नियन्त्रण: लामो समयसम्म गाडी नचलाउँदा १०-५० प्रतिशत चार्ज स्तरमा राख्नुपर्छ।
-नरम ड्राइभिङ र चार्जिङ: उच्च गति, डिसि फास्ट चार्जिङ र भारी एक्सेलेरेशनले ब्याट्रीमा पर्ने तनाव बढाउँछ। यो प्रक्रिया सीमित गर्नुपर्ने बताइएको छ।