२० वर्ष पुराना सवारी सञ्चालनमा रोक
काठमाडौँ । २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयनमा आउने भएको छ। उच्च अदालत, पाटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि पटक(पटक अवरोध हुँदै आएको यो निर्णय अब पूर्णरूपमा लागू गर्न बाटो खुलेको हो।
२०८० कात्तिक १५ गते उच्च अदालत पाटनले २० वर्ष पुराना सवारी हटाउने निर्णय कार्यान्वयन रोक्नुपर्ने कुनै आधार नभएको फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन गरिएकोमा सर्वोच्च अदालतले २०८१ कात्तिक २३ गते उच्च अदालतको फैसलालाई सदर गरेको हो।
बागमती प्रदेश सरकारले २० वर्ष पुराना डिजेल र पेट्रोल सवारीसाधन ३५ दिनभित्र स्क्राप गर्नुपर्ने सूचना निकालेको थियो। तर, विभिन्न विरोधका कारण यो कार्यान्वयन रोकिएको थियो। अब भने प्रदेश सरकारसहित संघीय सरकारलाई पुराना सवारी हटाउने निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलेको छ।
पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएको निष्कर्षका आधारमा यो निर्णय गरिएको हो। नेपालमा सडक दुर्घटनाका मुख्य कारणमध्ये एक जीर्ण सवारीसाधनलाई मानिएको छ।