धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया टुंगियो, अब को सम्हाल्ला सेबोनको बागडोर?
काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति प्रक्रिया सम्पन्न भएको छ। आइतबार सिंहदरबारमा सम्पन्न अन्तर्वार्तापछि अब बोर्डले नयाँ अध्यक्ष पाउने निश्चित भएको छ।
अन्तर्वार्तामा बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। तर, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा अनुपस्थित रहे।
यसअघि, सर्टलिस्टमा परेका अन्य दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले पनि आफ्नो अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका थिए। अन्तर्वार्ता प्रक्रियामा सहभागी चार उम्मेदवारमध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गर्नेछ।
स्रोतका अनुसार सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ नाम मन्त्री परिषद्मा पठाउने तयारी भइरहेको जनाएको छ । अहिलेसम्म हेर्दा दुई जना श्रेष्ठ र अर्का अधिकारी सिफारिस गर्ने अन्तिम तयारी रहेको छ ।
मन्त्री परिषद्बाट सन्तोषनारायण श्रेष्ठ र नवराज अधिकारी मध्ये एक जनालाई बोर्डको जिम्मेवारी दिन सक्ने सम्भावना रहेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त छ। प्रक्रियामा ढिलाइका कारण नयाँ प्रक्रिया सुरु गर्ने प्रस्ताव भए तापनि कानूनी जटिलताका कारण पुरानै प्रक्रियालाई अघि बढाइएको हो।
अन्तर्वार्ता सम्पन्न भएसँगै, अब मन्त्रिपरिषद्ले निर्णय गरी बोर्डलाई नयाँ नेतृत्व प्रदान गर्नेछ। यो प्रक्रियाले धितोपत्र बजारको व्यवस्थापन र सुधारका लागि लामो समयदेखि देखिएको नेतृत्व रिक्तताको अन्त्य गर्नेछ। आगामी केही दिनभित्रै बोर्डले नयाँ अध्यक्ष पाउने अपेक्षा गरिएको छ।