निर्वाचन क्षेत्रका योजना बेच्ने सांसदलाई सभामुख घिमिरेको संरक्षण, नातावाद र एमालेको फाइदाका लागि लत्याए जनमतको कारबाही

९ मंसिर २०८१, आईतवार १०:४८

काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरे पदीय आचरण विपरीत दलको पक्षधरता र नातावादमा उत्रिएको आरोप लगाएको छ । जनमतले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कागजात संसद सचिवालयलाई बुझाउँदा समेत सभामुख घिमिरेले सत्ताधारी दल एमालेको पक्ष लिएको र नातावादलाई बढावा दिएको आरोप लगाएको हो ।

प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदबाट हटाउने जनमत पार्टीको तेस्रो प्रयासलाई पनि संसद् सचिवालयले रोक लगाइदिएको छ । यद्यपि, फलोअपसहित यो पत्राचार चौथो भएको संसद सचिवाल आफैंले स्वीकारेको छ । सांसद सापकोटालाई पदबाट हटाउन कानूनले तोकेका पूर्वशर्त पालना नभएको भन्दै सभामुख देवराज घिमिरेले पद रिक्तको निर्णय लिन अस्वीकार गरेको बताइन्छ । कम्बोडिया भ्रमणमा जानुअघि घिमिरेले जनमतको पत्राचार अनुसार कारबाही गर्न नपर्ने निर्णय गरेका हुन् ।

यसअघिपनि सापकोटाको कारबाहीमा दुई पटक रोक लागिसकेको छ । सभामुखले सापकोटाबाट पार्टीको ह्वीप उल्लङ्घन नभएको, दल त्याग नगरेको र सदस्य हुन अयोग्य हुने कुनै कसुर समेत गरेको नदेखिएको भन्दै पद रिक्त हुने निर्णय गर्न अस्वीकार गरेको संसद सचिवालयले जनाएको छ ।

सभामुखले निर्णयमा भनेका छन्, ‘माननीय गोमा लाभ सापकोटामाथि गरिएको भनिएको कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्र विश्वसनीय नदेखिएको अवस्थामा दफा ३४ बमोजिम दिइएको सूचना कानुनी प्रबन्धविपरीत भई त्रुटिपूर्ण देखिन आएको छ,’ निर्णयमा सभामुखले भनेका छन् । करिब एक वर्षको अन्तरालमा जनमतले सापकोटालाई हटाउन तेस्रो प्रयास गरेको थियो ।

२०८० फागुन १४ गते पहिलोपटक र फागुन २७ गते दोस्रोपटक जनमत पार्टीले लाभलाई हटाइदिन संसद सचिवालयमा पत्राचार गरेको थियो । तर, सभामुख देवराज घिमिरेले कारबाही कानूनी रूपमा प्रथम दृष्टिमै त्रुटीपूर्ण देखिन आएको भन्दै हटाउन इन्कार गरेका थिए । पार्टीको केन्द्रीय समितिबाट निर्णय नगरिएको तथा स्पष्टीकरणको मौका प्रदान नगरिएको भन्दै लाभलाई सांसदबाट हटाउने सूचना प्रकाशित गर्न सभामुखले इन्कार गरेका थिए । र, जनमत पार्टीले तेस्रो पटक २०८१ कात्तिक १ गते सांसद लाभलाई हटाउन संसद सचिवालयमा पत्राचार गरेकामा त्यो समेत सभामुखले इन्कार गरिदिएका छन् ।

सांसद हट्ने अवस्था
राजनीतिक दल सम्बन्धी ऐन अनुसार चार वटा अवस्थामा सांसदलाई पदबाट हटाउन मिल्छ ।

पहिलो, सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा दलको ह्वीप विपरीत मतदान गरेमा ।

दोस्रो सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषयमा दलको ह्वीप विपरीत गएमा ।

तेस्रो, बजेट पास/फेल गर्ने विषयमा पार्टीले जारी गरेको ह्वीप उल्लघंन गरेमा ।

चौथो, राष्ट्रिय वा सार्वजनिक महत्वका अन्य कुनै विषयमा सांसदले ह्वीप उल्लंघन गरेमा ।

यस्तो अवस्थामा दलका सचेतकले केन्द्रीय समितिलाई जानकारी गराएर सांसदलाई हटाउन मिल्ने प्रावधान छ । यसरी दलले हटाउन सूचना दिएको अवस्थमा दफा ३५ अनुसार सभामुखले पन्ध्र दिनभित्र सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

सांसद लाभको लोभ
पैसा आफु ३० लाख बुझाएर सांसद बनेको बताउँदै हिँड्ने सांसद लाभ र उनका श्रीमानको लोभले समस्या निम्त्यिाएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकार गठनपछि दल विभाजन हुने गरीको अध्यादेश ल्याउन खोज्दा जनमत पार्टीबाट फुट्नेहरुको नेतृत्व सांसद लाभले गरेकी थिइन् ।

त्यति मात्रै होइन, उनले निर्वाचन क्षेत्रका आयोजना अग्रिम रकम लिएर ठेकेदारलाई बेच्न श्रीमानलाई सघाएकी थिईन् । ठेकेदारहरुसँग अग्रिम डील गरेको भिडियो नै जनमत पार्टीको केन्द्रीय सचिवालयमा पुगेको र पटक-पटक लाभ दम्पतीले मच्चाएको आतंकबारे पार्टी कार्यालयमा रिपोटिङ भएको थियो ।

यद्यपि, सांसद लाभले भने आफुले पार्टी हित विपरीत कुनै पनि काम नगरेको जिकिर गरेकी छन् । बीमापोष्टसँग उनले भनिन्, ‘मैले पार्टी हित विरीत कुनै पनि कार्य गरेको छैन र मलाई पार्टीले कारबाही गरेको भन्ने आधिकारिक रुपमा जानकारीसम्म छैन ।’

विगतमा सांसद बन्न आफू निकटलाई पैसा बुझाएको तर अहिले आफूभन्दा सूचीमा तल रहेको अर्को व्यक्तिलाई सांसद बनाउन आफूलाई हटाउन खोजिएको सांसद लाभले गुनासो गरेकी छन् । उनले सीके राउतको पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवसँग कुराकानी गरेर झण्डै ३० लाख बुझाएर आफू सांसद भएको बताउने गरेकी छन् ।

खासमा उनले प्रदेश सभाको समानुपातिक सांसद बन्न पैसा बुझाएकी थिईन् । प्रदेश सांसद बनेको भए छुट्टै साम्राज्य खडा गर्ने उनको योजना थियो । तर, जनमतले निर्वाचनको बन्दसूची पठाउने बेला उनको नाम केन्द्रमा राखेर पठाएको बताइन्छ ।

सभामुख घिमिरेको नाता
सांसद लाभ सभामुख देवराज घिमिरेको नातेदार पर्छिन् । लाभको माइतीपक्षबाट घिमिरेसँग नाता छ । सभामुख घिमिरे सांसद लाभका दाईको (साला) पर्ने बताइन्छ ।

एकातिर नाता पर्ने र अर्कोतर्फ दल विभाजन गर्दा एमालेलाई हुने फाइदा हेरेर लाभलाई पदबाट हटाउने जनमतको निर्णयविरुद्ध सभामुख घिमिरेले चट्टानी अडान लिएको बताइँदै छ । त्यो बेला सांसद लाभले विभाजनका लागि संख्या जुटाउन समेत रकमको डिल गरेको खुलासा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*