सडकमा एमालेको रमिता, सर्वसाधारणलाई सास्ती
काठमाडौँ । काठमाडौंका विभिन्न तीन स्थानमा प्रदर्शन हुँदा राजधानीको जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार बिहानदेखि जारी प्रदर्शनका कारण सर्वसाधारणले दैनिक कामकाजमा ठूलो असुविधा भोग्नु परेको छ। राजधानीको माइतीघर, दरबारमार्ग, र कोटेश्वरमा हुने प्रदर्शनले गर्दा काठमाडौंको प्रमुख सडकहरूमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ।
माइतीघर मण्डलामा सहकारी पीडितहरूको प्रदर्शन केही दिनदेखि नै जारी छ। उनीहरूले आफूले पाएको अन्यायको विरुद्धमा आवाज उठाउँदै आएका छन्। यसैबीच, शुक्रबार नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। यो सभाका लागि भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क हुँदै दरबारमार्गसम्म पुग्ने कार्यक्रम छ।
उता, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ। यी प्रदर्शनले राजधानीको सुरक्षा व्यवस्था कडा बनाउन बाध्य पारेको छ। प्रहरी प्रशासनले काठमाडौं उपत्यकामा ५,००० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ भने ट्राफिक व्यवस्थापनका लागि ५०० भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन्।
यी प्रदर्शनका कारण काठमाडौंको सडक नेटवर्कमा ठुलो दबाब परेको छ। मुख्य चोकहरू र महत्वपूर्ण सडक खण्डहरू जाम हुँदा सर्वसाधारणले अत्यधिक समय खर्च गर्नुपरेको छ। निजी सवारी साधन, सार्वजनिक यातायात र पैदल यात्रीहरू सबै प्रभावित भएका छन्।
विशेष गरी, एमालेको प्रदर्शनले जनजीवनलाई ठुलो असर पारेको छ। प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकाले पार्टीका कार्यकर्ता ठूलो संख्यामा सडकमा ओर्लिएका छन्। राजधानीको व्यस्त क्षेत्रमा यो प्रदर्शनले गर्दा स्कुल, कार्यालय, र दैनिक गन्तव्यमा जान चाहने सर्वसाधारणलाई ठूलो सास्ती भएको छ।
सर्वसाधारणले सडकमा हुने यस्ता प्रदर्शनप्रति आक्रोश व्यक्त गरेका छन्। देशकै दोस्रो ठूलो दल एमालेले आफ्नै सरकार हुँदा पनि सडकमा प्रदर्शन गर्ने निर्णयले सर्वसाधारणको आलोचना खेपिरहेको छ। ‘आफ्नो माग पुरा गर्नका लागि ठूलो पार्टीले सडक जाम गर्नु कहाँसम्मको न्याय हो ?’ भनेर सर्वसाधारणले प्रश्न उठाएका छन्।
यस्तै, सहकारी पीडितहरूले पनि आफूहरूलाई दबाब दिन सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउनु परेको भन्दै अन्य विकल्प खोजिनुपर्ने माग गरेका छन्। प्रदर्शनकारी र प्रहरीबीच कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकाय सतर्क देखिएको छ।