नेपालले कन्ट्री रेटिङमा पायो बीबी माइनस, दक्षिण एसियामा भारतपछि राम्रो
काठमाडौँ। नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङ ग्रेड पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले उक्त नतिजा प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल हो । यद्यपि दक्षिण एसियाका अरु राष्ट्रहरुभन्दा बढी (राम्रो) हो ।
नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा उक्त रेटिङ प्रदान गरेको हो ।
शाख मूल्यांकन प्रक्रियाअन्तर्गत स्थलगत अध्ययनका लागि ‘फिच क्रेडिट रेटिङ’को टोली गत भदौ अन्तिम साता नेपाल आएको थियो । सोही मूल्यांकनपछि अहिले नतिजा सार्वजनिक गरेको हो ।
लगानीका हिसाबले यो ग्रेडिङ उत्कृष्ट नभए पनि नराम्रो पनि नभएको जानकारहरु बताउँछन् । सामान्यतया ‘बीबीबी माइन’ देखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा तल बीबी माइनससम्मको लाई सट्टेबाजीको रेटिङ मानिन्छ । त्यसभन्दा मुनिको रेटिङलाई उच्च जोखिमयुक्त वा टाट पल्टिनसक्ने सम्भावना भएको मानिन्छ ।
जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने मानिने जानकारहरु बताउँछन् ।