हाइड्रोमा लगानी गर्दैै हुनुहुन्छ ? हेर्नुहोस् ९० जलविद्युत कम्पनीहरूको नाफा, व्यापार, इपिएस र नेटवर्थ
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासले जलविद्युत कम्पनीहरूको वित्तीय प्रदर्शनमा सुधारका स्पष्ट संकेत देखाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ जलविद्युत कम्पनीहरूले तीन महिनामा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ३५.०४ प्रतिशतले वृद्धि भएको हो
यो वृद्धि मुख्यतः विद्युत उत्पादन र बिक्रीबाट भएको आम्दानीमा सुधारका कारण सम्भव भएको हो । लगानीकर्ताका लागि जलविद्युत क्षेत्रको आकर्षण अझै बलियो छ । उच्च नाफा आर्जन गरेका कम्पनीहरूले यस क्षेत्रमा लगानी सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् अपर तामाकोशी हाइड्रोपावरले ६३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्दै शीर्ष स्थान ओगटेको छ । भुगोल इनर्जी र अरुण भ्यालीजस्ता कम्पनीहरूले नाफा वृद्धिमा उच्च दर कायम गर्दै आफ्नो वित्तीय स्थिति सुदृढ पारेका छन् ।
गत आवको घाटामा रहेका १९ कम्पनीहरूले यस त्रैमासमा नाफामा प्रवेश गरेका छन् । अपि पावर, सानिमा मिडल तमोर, हिमालयन पावर र अरुण कावेलीजस्ता कम्पनीहरूले घाटाबाट उक्लेर धनात्मक वित्तीय प्रदर्शन गरेका छन् । यसले क्षेत्रको पुनरुत्थान क्षमता बलियो रहेको देखाउँछ ।
तर, केही चुनौती अझै पनि विद्यमान छन् । केही परियोजनाहरूको उत्पादन ठप्प हुँदा २० कम्पनी घाटामै रहेका छन्। त्यस्तै, भिजन लुम्बिनी, थ्रिस्टार, पञ्चकन्या माइजस्ता कम्पनीहरूको नाफा घटेको छ ।
लगानीकर्ताहरूका लागि जलविद्युत क्षेत्रमा लगानी दीर्घकालीन रूपमा सुरक्षित देखिएको छ । विद्युत बिक्री र उत्पादनको वृद्धिसँगै कम्पनीहरूको सेयर मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ। स्थिर आम्दानी र नाफाले लगानीकर्ताको विश्वास बढाउने मात्र नभई क्षेत्रको समग्र स्थायित्व सुनिश्चित गर्ने देखिएको छ । जलविद्युत कम्पनीहरूको यो प्रदर्शनले नेपालको ऊर्जा क्षेत्र थप सुदृढ हुँदै गएको संकेत गरेको छ । वित्तीय स्थायित्व र नाफाको निरन्तरताले क्षेत्रलाई अझ प्रतिस्पर्धी र लगानीमैत्री बनाउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
इपिएस र नेटवर्थ
चालु त्रैमासमा जलविद्युत कम्पनीहरूको औसत प्रतिशेयर आम्दानी (इपिएस) ६.६७ रुपैयाँ रहेको छ । इपिएसका आधारमा तेह्रथुम पावर अग्रस्थानमा छ, जसको इपिएस ४६.०३ रुपैयाँ छ। दोस्रो स्थानमा रहेको साहस उर्जाको इपिएस ४५.७४ रुपैयाँ छ भने सिक्लेस हाइड्रोपावरको ३८.६७ रुपैयाँ छ ।
प्रतिशेयर नेटवर्थमा भने बुटवल पावर सबैभन्दा अगाडि रहेको छ, जसको नेटवर्थ २०८.५० रुपैयाँ छ । दोस्रो स्थानमा रहेको ङादी ग्रुपको नेटवर्थ २०४.२२ रुपैयाँ छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय सुधारले जलविद्युत कम्पनीहरूको प्रदर्शनमा अझ सुधार हुने अपेक्षा गरिएको छ । लगानीकर्ताहरूमा उत्साह बढ्दै गएको देखिन्छ । जलविद्युत क्षेत्रमा भएको यो वित्तीय प्रगति मुलुकको समग्र ऊर्जा क्षेत्रमा सकारात्मक संकेत हो । आगामी दिनमा यसले सेयर बजारलाई अझ उचाइमा लैजाने विश्वास गरिएको छ ।
व्यापारमा समेत फड्को
पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरूले १४ अर्ब रुपैयाँभन्दा बढीको विद्युत बिक्री गरेका छन्। ९० जलविद्युत कम्पनीहरूले तीन महिनामा १४ अर्ब ५ करोड २३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६८ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पजनीहरुले १२ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।
जलविद्युत कम्पनीहरूले आर्जन गरेको व्यापारले लगानीकर्ताहरूको उत्साह थप बढाएको छ । अपर तामाकोशीले सबैभन्दा धेरै २ अर्ब ९३ करोड ९ लाख रुपैयाँको व्यापार गरेको हो ।
सहास उर्जाले तीन महिनामा ८६ करोड ७१ लाख रुपैयाँ, माउन्टेन इनर्जीले ४९ करोड ६० लाख रुपैयाँ र ग्रिन भेन्र्चसले ५६ करोड ७८ लाख रुपैयाँको व्यापार गरेको हो ।
हाइड्रोपावरमा देखिएको चमकले लगानीकर्ताहरूले जलविद्युत क्षेत्रलाई सुरक्षित विकल्पका रूपमा हेर्न थालेका छन् । वित्तीय प्रदर्शनमा सुधार, उत्पादन क्षमताको विस्तार र बजारको सकारात्मक मागले दीर्घकालीन रूपमा जलविद्युतमा लगानी लाभदायक हुने देखाएको छ ।