विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजलाई नयाँ नियम, शिक्षा मन्त्रालयले दियो ४ बुँदे निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूलाई नयाँ नियम लागु गर्ने निर्णय गरेको छ। मन्त्रालयले ती कलेजलाई ४ बुँदे निर्देशन जारी गर्दै कार्यक्रम सञ्चालनमा थप व्यवस्थापन र गुणस्तर सुधारको लागि मार्गनिर्देशन दिएको हो।
मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्यालद्वारा हस्ताक्षरित निर्देशनमा एउटै भवन परिसरमा नेपाली र विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूले एक वर्षभित्र ती कार्यक्रम अलग स्थानमा सार्नुपर्ने स्पष्ट गरिएको छ।
“एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरूले अनिवार्य रूपमा अलग(अलग स्थानबाट कार्यक्रम सञ्चालन गर्नुपर्नेछ,” निर्देशनमा उल्लेख छ।
विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने कलेजहरूले छुट्टाछुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको व्यवस्था गर्नुपर्नेछ। मन्त्रालयले ती प्रिन्सिपलको सम्पर्क नम्बरसहित विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले ती कलेजलाई माघभित्र वार्षिक शैक्षिक क्यालेन्डर, हाल सञ्चालन भइरहेका कार्यक्रम, विद्यार्थी संख्या, शिक्षक विवरण, भौतिक पूर्वाधार, र भावी योजना समेटिएको प्रतिवेदन बुझाउन भनेको छ। यसका साथै, तीन वर्षभित्र गुणस्तर सुनिश्चितता (क्यूएए) प्रमाणपत्र लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर उपत्यकाभित्र ४४ र बाहिर १५ गरी ५९ वटा कलेज सञ्चालनमा छन्। यी कलेजमा २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
नयाँ नियम लागु भएसँगै यी कलेजहरूले शैक्षिक कार्यक्रम सञ्चालनमा थप व्यवस्थापन गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय शैक्षिक क्षेत्रको गुणस्तर सुधार र व्यवस्थापनलाई ध्यानमा राखेर गरेको बताएको छ।