रसियाले ध्वस्त पार्ने संकेतपछि किभस्थित अमेरिकी दुताबास बन्द, सबै कर्मचारीलाई भाग्न निर्देशन
काठमाडौं । युक्रेनमा जारी युद्ध नयाँ मोडमा पुगेको छ । रसियाले युक्रेनको किभमा रहेको अमेरिकी दुताबाससहितका क्षेत्रमा भिषण हवाई हमला गर्ने सूचना पाएपछि कार्यालय नै बन्द गरेर अमेरिकी दुताबासका कर्मचारीलाई भाग्न निर्देशन दिइएको छ ।
रुस र युक्रेनबीचको युद्ध हजार दिन पुगे लगत्तै अमेरिकाले युक्रेनलाई लामो दुरीको हतियारमार्फत रसियाभित्र समेत आक्रमण गर्न सक्ने अनुमति दिए लगत्तै हिजो युक्रेनबाट रसियामाथि अमेरिकी हतियारबाट आक्रमण गरिएको थियो । त्यस लगत्तै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको डक्ट्रिन संशोधन सम्बन्धी विधेयक स्वीकृत गरेका छन् । यस लगत्तै अमेरिकाले किभमा रहेको दुताबास र कर्मचारीको ज्यान खतरामा रहेको सूचना पाएपछि दुताबास नै बन्द गरेर अमेरिकी कर्मचारीहरु त्यहाँबाट भागेका हुन् ।
युक्रेनका लागि अमेरिकी राजदुताबासले आफ्नो वेभसाइटमा आजै नोभेम्वर २० तारिखमा भिषण हवाई हमला गर्ने गोप्य सूचना प्राप्त भएकोले दुताबासको कार्यालय बन्द हुने र सबै कर्मचारी तथा अमेरिकी नागरिकहरुलाई बम सेल्टरमा लुक्न सूचित गरिएको छ ।
यस्तो सूचनासँगै युक्रेनको राजधानीबाटै अमेरिकी दुताबास बन्द गरेर कर्मचारीहरु भागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुताबासमा आक्रमण गर्नुलाई अमेरिकामाथि नै आक्रमण गरेको रुपमा बुझिने वार्सा अभिसन्धी र अन्तर्राष्ट्रिय कानुनमा उल्लेख छ । दुताबासमाथि आक्रमण भएको अवस्थामा रसियाले अमेरिकालाई सिधैं युद्धका लागि निमन्त्रणा गरेको अर्थमा बुझिन्छ । त्यति हुँदा पनि अमेरिका भने दुताबास नै बन्द गरेर भाग्ने निर्णयमा पुगेको छ ।
युक्रेन र रसियाबीचको युद्धमा अमेरिकाले युक्रेनलाई सहयोग गर्दै आएको छ । आज एकाएक अमेरिका दुताबास नै बन्द गरेर भाग्नुलाई यसअघिको अफगानिस्तान र भियतनामको स्थितिमा अमेरिका पुगेको रुपमा चर्चा गरिएको छ ।