नेपाल बीमा प्राधिकरणका अध्यक्षसहित दर्जन बीमा कम्पनीका सिईओहरु श्रीलंकामा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल तथा जीवन बीमा कम्पनीका दर्जन बढि सिईओहरुसहितको टोली श्रीलंका भ्रमणमा निस्केका छन् । गत आइतबार काठमाडौंबाट कोलम्बोतर्फ उडेको टोली भोलि बिहिवार मात्रै काठमाडौं फर्कने योजना रहेको छ ।
जीवन बीमक संघ नेपालको सम्पूर्ण खर्च व्यवस्थापनमा प्राधिकरणका अध्यक्ष सहितको टोली श्रीलंका भ्रमणमा निस्केको हो । श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट हुन सकेको छैन । जीवन बीमक संघले लाखौं रुपैयाँ खर्च गरेर श्रीलंका भ्रमणको उद्देश्य एनएफआरएस १७ मापदण्डको बारेमा बैठक गर्ने अनौपचारिक स्रोतले जनाएको छ ।
नेपालमा लागू हुने नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्डबारे बीमक संघले श्रीलंकामा छलफल गर्न कार्यक्रम राखेको हो । उक्त कार्यक्रमपछि एनएफआरएसबारे थप स्पष्टता हुने विश्वास लिइएको छ ।