ललितपुरको एकान्तकुनारस्थित २–११ रोपनी सार्वजनिक जग्गा गुण सहकारीका राजेन्द्र शाक्यद्वारा नियन्त्रणमा, करोडौं मूल्यमा रुप ज्योतिलाई बिक्री
काठमाडौं । ललितपुर-महानगर १३ नम्बर वडाको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पछाडिको घना बस्तीबीचमा रहेको गोलाकार सार्वजनिक पोखरी भूमाफियाले कब्जा गरेका छन् । जनप्रतिनिधिहरु समेतको आँखा छलेर गुठीयारहरुले सार्वजनिक कमल पोखरी भूमाफियालाई सुम्मिएका हुन् । २ रोपनी ११ आनामा फैलिएको कमल पोखरी गुठियारहरुले रैकर गरेर विभिन्न व्यक्तिका नाममा नामसारी गर्दै ठूला भूमाफियाको पोल्टामा पारिदिएका छन् ।
विभिन्न ठाउँमा सार्वजनिक जग्गा मिचेर भौतिक संरचना निर्माण गरेको आरोप लाग्दै आएका गुण समूहका सञ्चालक राजेन्द्र शाक्यले कौडीको भाउमा जग्गा हत्याएर अहिले फेरि डा. रुप ज्योतिलाई अस्पताल बनाउन बेचेका छन् ।
अचम्म के छ भने गुण समूह अन्तर्गतका विभिन्न संस्थाहरु आर्थिक संकटले थला परेका बेला शाक्यले जग्गा किनेको भेटिएको छ । गुण अन्तर्गतका सिनेमा हल, बैंक तथा वित्तीय संस्थालगायतमा हात हालेका शाक्यले आर्थिक संकट व्यहोरिरहेका बेला जग्गा खरिद गरे पनि कति मूल्य तिरे भन्ने खुलाएका छैनन् ।
गोप्य स्रोतले दिएको जानकारी अनुसार उनले एउटा कित्ताको जग्गालाई मात्र रकम तिरेर बाँकी दुई कित्ताको सार्वजनिक जग्गा हडपेका हुन् । सार्वजनिक पोखरी व्यक्तिको नाममा आएको ११ वर्षपछि, २०७५ जेठ ८ गते व्यवसायी राजेन्द्र शाक्य (दिजेन्द्र)ले योगेन्द्र डंगोलको नाममा भएको कित्ता नम्बर १४४५ को १० आना ३ पैसा जग्गा र विन ज्वालानन्दको नाममा रहेको १० आना ३ पैसा जग्गा किनेको देखिन्छ ।
त्यसपछि सानुमैया राजोपाध्याय, केदार ज्वालानन्द राजोपाध्याय र घनश्याम राजोपाध्यायको संयुक्त नाममा रहेको कित्ता नम्बर १४३९ को १ रोपनी ५ आना २ पैसा जग्गा समेत शाक्यले २०७५ जेठ २३ गते खरिद गरेको कागजातले देखाउँछन् ।
ललितपुर महानगरका कार्यपालिका सदस्य एवं तत्कालीन जनप्रतिनिधि गणेश केसी आफैंले सानोमा माछा मारेको सार्वजनिक पोखरी अहिले तारबार गरेर भूमाफियाको कब्जामा छ । उनी भन्छन्, ‘२०४९ देखि २०५४ सालसम्म म आफैंले त्यो पोखरी व्यक्तिको नाममा जानबाट रोकेको थिएँ । पछि अर्को कार्यकालमा म शपथ नै नलिई काम विशेषले जापान गएँ । त्यो कार्यकाल मेरो उतै वित्यो । त्यही बेला भूमाफियाको चलखेलमा तीन वटा कित्तामा रहेको पोखरी छिन्नभिन्न पारिएको देखिन्छ ।’
२०५७ देखि २०६४ को बीचमा यो चलखेल भएको छ । जतिबेला तत्कालीन स्वास्थ्यमन्त्री मणि लामा इच्छाराज तामाङलगायतका रियलस्टेट व्यापारीका व्यवसायिक साझेदार थिए, त्यतिबेला ललितपुरमा थुप्रै सार्वजनिक पोखरी तथा जग्गाहरु भूमाफियाको पोल्टामा गएको देखिन्छ ।
केसीले २०७४ को कार्यकालमा पनि १ वर्ष भूमाफियाको थ्रेट सहेर पोखरी जोगाए । तर, राजेन्द्र शाक्यका वकीलसँग केही गरी सकेनन् । उनीहरुले अख्तियार, मालपोत, भूमिसुधार, नापी र सीडीओ सबैतिरबाट आफ्नो पक्षमा कागजात तयार पारेपछि केही सिप नलागेको केसी बताउँछन् ।
उनी भन्छन्, ‘सबैतिरबाट कागजात मिलाएर सिध्याइसकेको रहेछ भनेर मेयर चिरिबाबुले सिफारिस दिन भने पनि मैले अहिले पनि कमलपोखरी नै भनेर सिफारिस लेखेर पठाएका छुँ । तर, सबैतिरबाट उनीहरुले कागजात आफ्नो पक्षमा ल्याइसकेका छन् ।’
स्थानीयले अख्तियारमा उजुरी हालेकामा पनि भूमाफियाले अख्तियार समेतलाई प्रभावमा पारेर क्लिनचिट लिएका छन् । डा. रुप ज्योतिले सार्वजनिक पोखरीमाथि हस्पिटल बनाउने तयारी गरेका छन् ।
राजेन्द्र शाक्य समेतको शेयर रहेको मणिहर्ष क्यान्सर एन्ड जनरल हस्पिटल प्रालिले जग्गा किनेको भनिएको छ । शाक्यले २०७५ चैत १९ गते पोखरीको जग्गासहित आफ्नो नाममा रहेको अर्को कित्ता नम्बर १५७९ को गरी २४३८ वर्गमिटर जग्गा हस्पिटललाई विक्री गरेको देखिन्छ । अस्पतालका प्रमुख लगानीकर्ता रुप ज्योति संस्थाको अध्यक्षसमेत हुन् । उनको ९६ प्रतिशत लगानी छ ।
तीन प्रतिशत लगानी उपठ्ठान कम्पनीको छ, भने १ प्रतिशत सिद्धि इन्भेष्टमेन्टको । उपठ्ठानका सञ्चालकमा प्रकाशभक्त माथेमा र मिला सायमी देखिन्छन् भने सिद्धिको लगानीकर्ता राजेन्द्र शाक्य हुन् । रूप ज्योति, ज्योति ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।