पाठ्यक्रम विकास केन्द्रलाई ग्रीड परिमार्जन गर्न हतारो किन ?
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले वि.सं.२०७८ सालमा माध्यमिक तह कक्षा ९ र १० को पाठ्यक्रम विकास गरी २०७९ सालबाट कक्षा ९ र २०८० सालबाट कक्षा १० मा कार्यान्वयनमा रहेको छ ।
पाठ्यक्रम विकासको क्रममा उक्त पाठ्यक्रमका आधारमा तयार गरिएको गणित तथा विज्ञान विषयको विशिष्टीकरण तालिका र नमुना प्रश्नपत्रका आधारमा २०८० सालको गणित तथा विज्ञान विषयको माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन भएको उक्त विशिष्टीकरण तालिका एक वर्ष मात्र लागू गरी परिमार्जन गर्ने तयारी गरिरहेको सन्दर्भ पाठ्यक्रम विकास केन्द्रका प्रमुखबाट नै सार्वजनिक भएको छ र सोही आधारमा गणित तथा विज्ञान विषयको विशिष्टीकरण तालिका परिवर्तनको सन्दर्भमा व्यापक बहस चलिरहेको अवस्था छ ।
लामो अध्ययन अनुसन्धान गरी गणित विषयका विज्ञहरू सम्मिलित कार्यदलबाट प्रक्रिया पुरा गरी पाठ्यक्रमको मुल मर्मअनुरुप गणित विषयलाई व्यावहारिक एवम् दैनिक जीवनका क्रियाकलापसँग प्रत्यक्ष सरोकार राख्ने सन्दर्भसहित विभिन्न गणितीय अवधारणाहरूलाई एकीकृत गरेर प्रश्नहरू निर्माणको व्यवस्था गरिएको, पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा अन्य सामग्री तयार गर्दा विशिष्टीकरण तालिकाको मर्मलाई पनि समावेश गरिएको, त्यसैअनुरुप शिक्षकहरूलाई अभिमुखीकरण तथा तालिम सामग्री विकास गरी क्षमता विकास गरिएको सो विशिष्टीकरण तालिकालाई अध्ययन विना शैक्षिक सत्रको बिचमा परिवर्तन गर्दा एकातिर विद्यार्थीहरूको नतिजा प्रभावित हुनेछ भने अर्कातिर राज्यको स्रोत पनि अनावश्यक खर्च हुने देखिन्छ ।
शिक्षक तथा विद्यार्थीहरू यस विशिष्टीकरण तालिका र प्रश्नपत्रको ढाँचामा अभ्यस्त हुनुका साथै माध्यमिक शिक्षा परीक्षाको गणित विषयको नतिजामा पनि सुधार भएको देखिएको छ । २०७६ र २०७७ सालको एसईई परीक्षा विद्यालयले नै सञ्चालन गरेको थियो भने अन्य वर्ष राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन भएको थियो । विद्यार्थीहरूको प्राप्ताङ्कलाई हेर्दा विगतको एसईई परीक्षाको तुलनामा २०८० सालको गणित विषयको परीक्षामा विद्यार्थीको नतिजामा सुधार भएको देखिन्छ ।
कम्तिमा ३, ४ वर्ष कार्यान्वयन गरी त्यसबाट प्राप्त नतिजारसिकाइका आधारमा मात्र विशिष्टीकरण तालिका परिमार्जन गर्नु उपयुक्त हुने कुरा विज्ञहरू सुझाउँछन् । अध्ययन अनुसन्धान विना हचुवाको भरमा विशिष्टीकरण तालिका परिवर्तन गर्दा शिक्षक तथा विद्यार्थीमा अन्योलता सिर्जना भई विद्यार्थीको नतिजा प्रभावित हुनेछ भने पाठ्यपुस्तक परिमार्जन, शिक्षकलाई तालिमको व्यवस्था गर्नु पर्नाका साथै अविश्वासको वातावरणसमेत पैदा हुनेछ ।