विदेशी मुद्रा सञ्चिति २२ खर्ब, १७.६ महिनाको आयात धान्ने
काठमाडौँ। नेपालमा विदेशी विनिमय सञ्चिति २२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार असोजसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।
गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा ९.४ प्रतिशतले विदेशी मुद्रा बढेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ६० करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड रहेको थियो । तीन महिनामा अमेरिकी डलर ८.७ प्रतिशत बढेको राष्ट्र बैंकको भनाइ छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको असोजमा ७।५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २६।९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।