११.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा चार खर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा नेपाल भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेर चार खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४०४ अर्ब ७ करोड रहेको थियो ।
असोज मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ रहेको थियो ।