जीवन बीमा कम्पनीको व्यवसाय ७%ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सन नेपाल–रिलायबल र नेशनल लाइफअघि
काठमाडौँ । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले बृद्धि भएको छ । देशको राजनीतिक र आर्थिक अवस्थाले विभिन्न लगानीका क्षेत्रमा छाएको समयमा पनि बीमा व्यवसाय सन्तोषजनक तरिकाले अगाडि बढिरहेको छ ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सञ्चालित १४ कम्पनीहरुले ४४ अर्ब ४२ करोड ९२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरुको व्यवसाय ७ दशमलव ४७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा ४१ अर्ब ३३ करोड ९३ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।
यस अवधिमा सबैभन्दा बढी बीमा व्यवसाय गर्ने कम्पनीहरुमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । साथै, गत आर्थिक वर्षको तुलनामा व्यवसाय वृद्धिमा सन नेपाल लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । कम्पनीको बीमा व्यवसाय सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ ।
चालु आवको तीन महिनामा नेपाल लाइफ इन्स्योरेन्सले ११ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । कम्पनीले आफ्ना अभिकर्तालाई सक्रिय र आक्रमक व्यवसायीक रणनीतिलाई लिएर अघि बढ्दा सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको हो ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले चार अर्ब ९१ करोड ४९ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको एलआइसी नेपालले पनि चार अर्ब ५७ करोड ३७ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् ।
समीक्षा अवधिमा हिमालयन लाइफले चार अर्ब २७ करोड ८७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले दुई अर्ब ४९ करोड ९४ लाख रुपैयाँ, एशियन लाइफले दुई अर्ब तीन करोड ६६ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ७४ करोड ७४ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफले एक अर्ब ५६ करोड ४९ लाख रुपैयाँ, मेट लाइफले एक अर्ब ४४ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले एक अर्ब २१ करोड ४२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब २० करोड ८० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले एक अर्ब २० करोड ७१ लख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब १६ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् ।
बृद्धिदरका आधारमा,
व्यवसाय वृद्धिदरको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय २३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीको व्यवसाय १९ प्रतिशतले बढेको छ । साथै, नेशनल लाइफको व्यवसाय १७.१९ प्रतिशत, सिटिजन लाइफको १६.१९ प्रतिशत र आइएमई लाइफ इन्स्योरेन्सको १० प्रतिशतले व्यवसाय बढेको छ ।
Good