कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने डोनाल्ड ट्रम्पको घोषणा

४ मंसिर २०८१, मंगलवार ११:३३

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै आप्रवासन सम्बन्धी कडा नीति लागू गर्ने घोषणा गरेका छन्। राष्ट्रपति पदमा पुनः निर्वाचित भएपछि उनले लाखौं कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने र अमेरिकी–मेक्सिको सीमालाई थप सुरक्षित बनाउने कदम चाल्ने बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा यसबारे संकेत गर्दै हालैको एक पोस्टलाई समर्थन गरेका थिए। पोस्टमा, ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरी सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार रहेको उल्लेख गरिएको छ। ट्रम्पले उक्त कुरा सत्य रहेको सार्वजनिक रूपमा स्वीकृत गरेपछि यो विषयले थप चर्चा पाएको छ।

राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी आप्रवासीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको ट्रम्पको दाबी छ। यसै कारण, उनले आफ्नो कार्यकालमा अवैध आप्रवासीहरूलाई देशबाट हटाउने प्रक्रिया तीव्र बनाउने योजना अघि सारेका छन्। उनले यसका लागि पूर्वकार्यवाहक प्रमुख टम होमनलाई ‘सीमा जार’ का रूपमा नियुक्त गरेका छन्।

अध्यागमनबारे कट्टरपन्थी धारणा राख्ने क्याबिनेट सदस्यहरूको टोली तयार गर्ने ट्रम्पको योजना सार्वजनिक भएसँगै यो कदमले व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ। अमेरिकामा हाल लगभग एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन्।

ट्रम्पको निर्वासन नीतिले लगभग दुई करोडभन्दा बढी परिवारमा प्रत्यक्ष असर पार्न सक्ने आँकलन गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*