बाढी पहिरोका बीमितलाई बीमा कम्पनीद्वारा ६१ करोड दावी भुक्तानी, शिखर एक्लैको २६ करोडबढी, अन्य कुनको कति ?
काठमाडौं । सञ्चालनमा रेहका निर्जीवन बीमा कम्पनीहरुले गत असोज महिनामा गएको बाढीपहिरो क्षति भई परेको बीमा दावी वापत ६१ करोडबढी रुपैयाँको मात्र भुक्तानी गरेको छ । यस क्षतिका कारण कात्तिक २८ गतेसम्म करिव १२ अर्ब रुपैयाँको दावी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक २८ गतेसम्म परेका दावीहरुमध्ये बीमा कम्पनीहरुले ९०२ वटा दावी वापत ६१ करोड सात लाख रुपैयाँको भुक्तानी गरेको छ । जसमा निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स मात्र बीमा दावी भुक्तानीमा अग्रसर रहेको देखिएको छ ।
हालसम्म शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई २६ करोड ६ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ । कात्तिक २८ गतेसम्म कम्पनीले परेका ४५३ वटा दावीमध्ये ३६५ वटा दावीको भुक्तानी गरेको छ । बाढी पहिरोले बिचल्लीमा परेका बीमितहरुको घाउमा मलम लगाउने कार्य गरेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १०५ वटा बीमा दावी बापत नौ करोड ३७ लाख रुपैयाँको दावी फ्छयौट गरेको छ । यस अवधिमा द ओरियन्टल इन्स्योरेन्सले तीन करोड ५८ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ ।
साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पाँच करोड ८२ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले चार करोड ६१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्सले बाँढी पीडितहरुलाई दुई करोड ५८ लाख रुपैयाँ, आइजिआर्ई प्रुडेन्सियल इन्स्योरेन्सले तीन करोड नौ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २२ लाख रुपैयाँ, एनएलजि इन्स्योरेन्सले पाँच लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले एक करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड रुपैयाँको बीमा दावी परेको छ । जसमा सरकारी कम्पनीको धाक लगाउँदै आएको राष्ट्रिय बीमा कम्पनीले कुनै पनि बीमा दावी भुक्तानी नदिदाँसमेत नियनकारी निकाय बीमा प्राधिकरण मौन रहेको छ ।
बीमा प्राधिकरणले बाढीपहिरोबाट प्रभावित बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।