बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्यो १२ अर्ब रुपैयाँको दावी, कुनले कसरी दिदैछन् भुक्तानी ?
काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक २८ गतेसम्मको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त विवरणबाट तीन हजार ४१८ वटा दाबी परेका छन् । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमाको विवरण हो ।
यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दुई अर्ब ६० करोड रुपैयाँको दावी परेको छ । कम्पनीमा हालसम्म ५०१ वटा दावी परेका छन् । जसमा कम्पनीले नौ करोड ३७ लाख रुपैयाँको दावी भुक्तानी गरेका छन् ।
त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ५१ करोड रुपैयाँ बढीको १७६ वटा दावी परेको छ । साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३७७ वटा दावी वापत एक अर्ब ३६ करोड रुपैयाँको दावी परेको छ ।
बाढीपहिरोको क्षतिले शिखर इन्स्योरेन्समा ४५३ वटा दावी बराबरको एक अर्ब पाँच करोड रुपैयाँको दावी भुक्तानी परेको छ । जसमा कम्पनीले २६ करोड रुपैयाँको दावी भुक्तानी गरिसकेको छ ।
हिमालयन एभरेष्टमा एक करोड रुपैयाँ बराबरको २४३ वटा दावी, नेको इन्स्योरेन्समा ७६ करोड रुपैयाँ बराबरको २१९ वटा दावी, युनाइटेड अजोड इन्स्योेरेन्समा ३२३ वटा दावी बापत ७२ करोड रुपैयाँको दावी परेको छ ।
त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा ५३ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ५० करोड रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५० करोड रुपैयाँ, एजएलजी इन्स्योरेन्समा ४७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३६ करोड रुपैयाँको दावी परेको छ ।
प्रभु इन्स्योरेन्समा २० करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड रुपैयाँको बीमा दावी परेको छ । जसमा सरकारी कम्पनीको धाक लगाउँदै आएको राष्ट्रिय बीमा कम्पनीले कुनै पनि बीमा दावी भुक्तानी नदिदाँसमेत नियनकारी निकाय बीमा प्राधिकरण मौन रहेको छ ।
केही साता अघिदेखि परेको अविरल वर्षाको कारण देशभर ठूलो जनधनको क्षति भएको छ । क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटोभन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरणले बीमकहरुलाई निर्देशन दिएको छ ।
बीमा प्राधिकरणले बाढीपहिरोबाट प्रभावित बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।