सडकपेटीका सहाराविहीनहरूको जीवनमा उज्यालो छर्दै मानवसेवा आश्रम, करिब ११ हजार व्यक्तिहरूको उद्धार

३ मंसिर २०८१, सोमबार १६:२६

काठमाडौँ । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि विगत २०६९ सालदेखि निरन्तर रूपमा उल्लेखनीय योगदान पु-याउँदै आएको छ । आश्रमको उद्देश्य नेपाललाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने रहेको छ । यस लक्ष्यलाई पूरा गर्न आश्रमले ‘सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा’ को नारासहित आफ्नो क्रियाकलाप अघि बढाइरहेको छ । यसै क्रममा चौथो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सम्पन्न भएको छ, जसले नेपालभरका सहयोगापेक्षी मानवहरूको उद्धारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

उद्धार यात्रा असोज २६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारमा उद्घाटन गरिएको थियो । अभियान झापाको मेची पुलबाट आरम्भ भई देशका सातै प्रदेशका ४४ जिल्लामा सञ्चालन गरियो । ३८ दिनसम्म सञ्चालन गरिएको यस यात्रामा २३६ सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये १७९ पुरुष र ५७ महिला थिए, जसमा ५ बालिका र ४ बालक पनि थिए । उद्धार गरिएका व्यक्तिहरूलाई मानवसेवा आश्रमका १५ सेवाकेन्द्रहरूमा सुरक्षित रूपमा राखेर खाना, नाना, छाना, स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिएको छ ।

मानवसेवा आश्रमको यस अभियानमा आनी छोइङ डोल्मा फाउन्डेसनको प्रमुख भूमिका रह्यो । यस अभियानको सम्पूर्ण खर्च फाउन्डेसनले व्यहोरेको थियो । अभियानमा मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी र वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मासहित ४७ जना सक्रिय सहभागी थिए । यसअघि पनि आश्रमले पहिलो, दोस्रो र तेस्रो मेची–महाकाली उद्धार यात्रा क्रमशः २०७७, २०७९ र २०८० मा सम्पन्न गरिसकेको छ ।

मानवसेवा आश्रमले हालसम्म १० हजार ७६८ सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरेको छ । तिनमध्ये ४ हजार २२३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८७९ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ । मानसिक असन्तुलनका कारण पुनर्मिलन गर्न नसकिने अवस्थामा रहेका १ हजार ८९८ जनालाई आश्रमका सेवाकेन्द्रहरूमा राखी निरन्तर हेरचाह गरिएको छ । आश्रमले हाल सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवाकेन्द्र स्थापना गरी मानव सेवा कार्यलाई अझ प्रभावकारी बनाएको छ ।

यस उद्धार यात्रामा कोशी प्रदेशबाट ४४, मधेश प्रदेशबाट ४०, बागमती प्रदेशबाट ५७, गण्डकी प्रदेशबाट ३५, लुम्बिनी प्रदेशबाट ४९ र कर्णाली प्रदेशबाट ३ जनाको उद्धार गरिएको थियो। उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, मानसिक पुनर्स्थापना, र पारिवारिक पुनर्मिलनको लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

मानवसेवा आश्रमको मुख्य उद्देश्य सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूलाई समाजको मुख्य प्रवाहमा ल्याउनु हो । आश्रमले विशेष अवसरहरू जस्तै जन्मदिन, विवाह, उत्सव, पितृको पुण्यतिथि, वा संस्थागत वार्षिकोत्सवको अवसरमा स्वयम् सेवा प्रदान गर्न इच्छुक व्यक्ति वा समूहहरूबाट नगद वा जिन्सी सहयोग संकलन गर्दै आएको छ । यसबाहेक, तीनै तहका सरकारबाट प्राप्त हुने अनुदान, दान पेटीकाबाट संकलित रकम, र देश–विदेशका परोपकारी व्यक्तिहरूबाट प्राप्त हुने सहयोगले पनि अभियानलाई सघाउ पु¥याएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य राखेको छ, जसले मानवसेवा आश्रमलाई थप हौसला प्रदान गरेको छ। आश्रमले आफ्नो मिसन २०८२ लाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारहरूको निरन्तर सहयोग र अभिभावकत्व अपेक्षा गरेको छ ।

मानवसेवा आश्रम कसरी सञ्चालित छ?

मानवसेवा आश्रमको सञ्चालन विभिन्न माध्यमबाट भइरहेको छ, जसमा:
१. व्यक्तिगत वा सामूहिक नगद तथा जिन्सी सहयोग।
२. जन्मदिन, विवाह, उत्सव, वा विशेष अवसरहरूमा प्रदान गरिने भोजन वा खाजा सेवा।
३. तीनै तहका सरकारबाट प्राप्त अनुदान।
४. दान पेटीकाबाट संकलित रकम र गोप्य दान।
५. देशविदेशका परोपकारी मनहरूबाट प्राप्त नगद तथा जिन्सी सहयोग।

अभियानमा कसरी सहभागी हुन सकिन्छ?

१. भोजन सेवा, नगद वा जिन्सी सहयोग उपलब्ध गराएर।
२. सकारात्मक सोच, नेतृत्व विकास वा अन्य मानवीय सेवामा सहभागी भएर।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*